नेपालगञ्ज : बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ १७ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २४ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।
जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकामा भने बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो । यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय संचालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा पनि निषेध गरिएको छ ।
बैंक तथा बिमा, बीउ विजन, कृषि औजार, बिषादीका पसल, निर्माण सामग्री पाइने पसल सिमित भने स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ । दैनिक उपभोग्य बस्तु खरिदका लागि भने विहान ७ देखि १२ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइनेछ ।