नेपालगञ्ज : बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।
डिसिएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ । कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गत १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो ।
त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ दश गतेसम्म पुर्याइएको हो । जिल्लामा निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड उस्तै छ । नागरिक स्तरबाटै निषेधाज्ञाको पालना भएको देखिदैन ।
संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि मुभमेन्ट नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ ।