नेपालगञ्ज : बाँकेमा बिहीबार कोरोना संक्रमित जेष्ठ नागरिक महिलाको उपचारको क्रममा ज्यान गएको छ । जिल्लामा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढ्दो क्रममा रहेको छ ।
बिहीबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–१७ का ८६ वर्षिया जेष्ठ नागरिक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा बैशाख ७ गते भर्ना भएको, ७ गते नै पिसिआर जाँच गरिएको र ८ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारकै क्रममा बिहिबार बिहान २ः१५ बजे उनको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेना, परिवारका सदस्य तथा डिसिसीएमसीबाट पहल भएको छ । बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।