बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन् । यस अघि सरकारमा रहेका माओवादी केन्द्रको पहलमा प्रदेश संसद सचिवालयमा मुख्यमन्त्री पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । उनले साढे तीन घण्टा मै मन्त्रिपरिषद बिस्तार गर्दै अविश्वासको प्रस्ताव साढे दुई घण्टामै तुहाई दिएका हुन ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादीका ४१ प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर दिउँसो १ः१५ बजे प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । त्यसको तीन घण्टा मै मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादीका ५ मध्ये तीन र हस्ताक्षर नगर्ने एक जनालाई प्रदेश सरकारमा सहभागि गराउदै मन्त्री बनाएका हुन् । नवनियुक्त चारै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले जसपाका सन्तोषकुमार पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्री नियुक्त गरेका हुन् । पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् ।
मन्त्रिपरिषद विस्तारसँगै मुख्यमन्त्री पोखरेलले बहालवाला मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन् । प्रदेशका ७ मन्त्रालय फुटाएर ८ मन्त्रालय बनाइएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।