नयाँ वर्ष २०७८ हर्षोल्लासका साथ मनाइँदै

सदरलाइन संवाददाता १ बैशाख २०७८, बुधबार १४:४९
 

नेपालगञ्ज : बुधवार विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

बुधवार सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।


सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । बुधवार बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

Next Post

प्युठानमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

१ बैशाख २०७८, बुधबार १४:४९
प्युठान : जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा घटनास्थलमा मृत्यु भएका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा कालिगण्डकीका श्याम न्यौपाने, कम्युटर अप्रेटर रेसुंगा नगरपालिका ७ का सूर्य पन्थी, खरिदार धुर्कोट ७ का ईश्वरी भण्डारी, […]