कोहलपुर (बाँके) : बाँकेमा दलित पत्रकारको वर्तमान अबस्था तथा चुनौती बिषयक अन्तरक्रिया तथा जिल्ला भेला शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तथा दलित पत्रकार संघ बाँकेका अध्यक्ष रुपा गहतराजको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य मधु शाहीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
सो भेलामा बोल्दै महासंघका केन्द्रीय सदस्य शाहीले दलित पत्रकारहरुले समाजमा रहेका विकृति, विसंगतिलाई चिरफार गर्दै समृद्ध समाज निर्माणमा उल्लेख्य भूमिका खेल्नु पर्ने र दलितहरुका मुद्धा तथा सवालहरुमा कलम चलाउनु पर्ने बताईन् ।
दलित समुदायको शसक्तिकरणका लागि पत्रकारिता क्षेत्र महत्वपुर्ण रहेकाले दलित पत्रकारको क्षमता अभिबृद्धि लगायतका कार्यक्रमहरु सन्चालन गर्नु पर्नेमा उनले जोड दिईन् ।
राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेको आयोजनामा गरिएको सो कार्यक्रममा दलित सेवा संघका निवर्तमान केन्द्रीय अध्यक्ष गजाधर सुनार, प्रेस संगठन बाँकेका संयोजक हेमन्त बिक, दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण सुनार, कोहलपुर नगरपालिका बिधायक समिति संयोजक भिम नेपाली, आर्थिक शाखा संयोजक डिलबहादुर परियार, नेकपाका केन्द्रीय सदस्य तथा सञ्चारकर्मी पुजन बिश्वकर्मा फेडोका अध्यक्ष निर्मला सुनार लगायतको सहभागिता रहेको थियो ।