डोल्पा : मध्यवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाण्डौस्थित चिडियाखाना लगिने भएको छ ।
एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको भाले डाँफे उद्धार गरी निकुञ्जमा बुझाएका थिए । संघीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौं लगिने पौडेलको भनाइ छ। एक महिना यता दुई घोरल र एक डाँफेसहित तीन वटा संरक्षित वन्यजन्तु स्थानीयलेनै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् ।
पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाई छ । संरक्षणका क्षेत्रमा उदाहारणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरष्कारसमेत दिँदै आएको छ ।