नेपालगञ्ज : बाँकेसहित तराईका जिल्लामा वाक्लो हुस्सु लागेको छ । शुक्रवार बिहानैबाट लागेको हुस्सुका कारण जनजिवन प्रभावित भएको छ । कुहिरोका कारण सडकनै अँध्यारो देखिएपछि सवारी साधनले दिउँसोको समयमा पनि लाईट बाल्नु परेको छ ।
आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । नेपालको मौसममा हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रवार नेपालगञ्जको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको विभागको वेबसाइटमा उल्लेख छ ।
तराईका अधिकांश र पहाडका केही भू–भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।