नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधवारदेखि सेवाग्राहीका लागि एसीसहितको सेवाग्राही कक्ष सञ्चालन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उक्त कक्षको संयुक्तरूपमा उद्घाटन गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडाको एकएक लाख रुपैयाँ सहयोगमा एसीसहितको उक्त कक्षको निर्माण गरिएको मेयर डा. राणाले जानकारी दिए ।
बाँकेका प्रजिअ कुरुम्बाङले हरेक सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि सहयोगीसम्म सबैको बस्ने ठाउँ हुने तर सेवाग्राहीका लागि बस्ने ठाउँ नहुने समस्या देखिएकाले सेवाग्राहीको सुबिधाका लागि नगरपालिकाका सबै वडाहरुको सहयोगमा एसीसहितको सुबिधा सम्पन्न कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको बताए । उनले सबै वडाहरुलाई धन्यवादसमेत दिए ।
यसैगरी बुधवारबाट सेवाग्राहीको सुबिधाका लागि बाँके प्रशासनमा टोकन प्रणाली पनि सञ्चालन गरिएको छ । बास नेपालको सहयोगमा उक्त प्रणाली सञ्चालनमा आएको हो ।