सदरलाइनडटकम,
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गौउँपालिका ३ नौवस्तामा निर्माण हुन लागेको नौवस्ता औद्योगिक क्षेत्रको बुधवार परियोजना कार्यालय उद्घाटन गरिएको छ । औद्योगिक क्षेत्रका कारण कुनैपनि घर परिवार विस्थापित हुनु नपर्ने आश्वासनका बीच कार्यालयको उद्घाटन गरिएको हो ।
परियोजना कार्यालयमा प्रमुख, ओभरसियरसहित तत्काल चारजना कर्मचारी खटिएका छन् । कर्मचारी खटिएपछि कामले गति लिने बिश्वास गरिएको छ । नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको कार्यालय उद्घाटन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले अबको एक बर्षभित्र उद्योगीलाई जग्गा उपलब्ध गराएर पाँच बर्षभित्र सबै निर्माण कार्य पुरा गर्ने योजना रहेको बताए ।
औद्योगिक क्षेत्रभित्र केही घरहरु रहेकोले सबैको ब्यवस्थापन गरिने बताउँदै अध्यक्ष बस्नेतले औद्योगिक क्षेत्रले कम्तीमा २० हजारलाई रोजगारी दिने भएकाले सहयोग गर्न स्थानीयलाई आग्रह गरे । वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्रको जग्गाभित्र भएका परिवारको उचित व्यवस्था गरिने भन्दै औद्योगिक क्षेत्र गाउँपालिकाकै मात्र नभएर प्रदेशकै लागि महत्वपूर्ण भएको बताए ।
सरकारले शुरुमा ५२५ विघा जग्गा औद्योगिक क्षेत्रलाई दिने निर्णय गरेपनि वस्तीलगायतका कारण अहिले ३३८ विघा जमिनमा निर्माण कार्य गरिँदैछ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव अजय टण्डनले औद्योगिक क्षेत्रको निर्माणपछि नेपालगञ्ज प्रदेश ५, ६ र ७ को आर्थिक नगरी हुने बताए ।