समाचार सारांश
- Hotel Soltee Westend Premier ले वैशाख १७–१९ मा ‘थारू फूड फेस्टिभल’ आयोजना गर्ने भएको छ।
- फेस्टिभलमा परम्परागत थारू परिकारसँगै सांस्कृतिक नृत्य र वातावरण प्रस्तुत गरिनेछ।
- प्रवेश निःशुल्क हुने र ५०० रुपैयाँको फूड भाउचरबाट पाहुनाले विभिन्न परिकारको स्वाद लिन सक्नेछन्।

नेपालगञ्ज : होटल सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जले पहिलो पटक ‘थारू फूड फेस्टिभल’ आयोजना गर्न लागेको छ । होटलले पत्रकार सम्मेलनको आयोजना गरी सो जनाकारी दिएको हो ।
थारू समुदायको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई उत्सवका रूपमा प्रस्तुत गर्न नेपालगञ्जस्थित होटल परिसरमा तीन दिने ‘थारू फूड फेस्टिभल’ आयोजना गरिने सोल्टी होटलका महाप्रबन्धक राजविक्रम शाहले जानकारी दिए ।
उनले दिदएको जानकारी अनुसार वैशाख १७ देखि १९ गतेसम्म सोल्टी होटल नेपालगञ्जमा फेस्टिभल आयोजना गरिने छ । फेस्टिभलमा अनुभवी सेफहरूले तयार पारेका विभिन्न परम्परागत थारू परिकारहरू प्रस्तुत गरिने छ ।

फेस्टिभलमा थारू परिकारसँगै थारू संस्कृति र परम्परालाई झल्काउने वातावरणसमेत सिर्जना गरिने छ । कार्यक्रमको उद्देश्य पाहुनाहरूलाई थारू खानाको समृद्ध परम्परासँग परिचित गराउनुका साथै स्थानीय बासिन्दा र आगन्तुकलाई यसको विशेष स्वाद, प्रस्तुति र सांस्कृतिक महत्त्व अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको उनले जानकारी दिए ।
फेस्टिभल सबैका लागि पहुँचयोग्य बनाउन प्रवेश निःशुल्क रहने होटलले जनाएको छ । साथै, सो अवसरमा पाहुनाहरूले पाँच सय रुपियाँका “रिडिम गर्न मिल्ने” फूड भाउचर खरिद गर्न सक्ने छन्, जसबाट कार्यक्रममा उपलब्ध परिकारहरूको स्वाद लिन सकिने छ ।
सांस्कृतिक अनुभवलाई अझ समृद्ध बनाउन हरेक साँझ ९ देखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुत गरिने पनि होटल व्यवस्थापनले जनाएको छ ।


