समाचार सारांश
- कोहलपुरमा वैशाख १९–२६ सम्म चौथो ‘कोहलपुर गोल्डकप’ फुटबल प्रतियोगिता तेह्र बिघा मैदानमा आयोजना हुने भएको छ।
- नेपालका प्रतिष्ठित क्लब र विदेशी टिमसहित ८ टिम सहभागी हुने प्रतियोगिताका सबै तयारी पूरा भइसकेका छन्।
- विजेताले ८ लाख र उपविजेताले ४ लाख पुरस्कार पाउने छन् भने सबै खेल दर्शकका लागि निःशुल्क हेर्न मिल्नेछ।

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको ‘कोहलपुर गोल्डकप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कोहलपुर रेसिङ साहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिघा खेल मैदानमा हुने भएको हो ।
प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लब तथा विदेशी टिमको समेत सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने टिमहरूमा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब रहेका छन् ।
कोहलपुर गोल्डकपका म्याच कमिस्नार दयाराम सापकोटाले समूह चरणमा आठ टिमबिच चार खेल हुने बताए । उनका अनुसार वैशाख १९ गते उद्घाटन खेल आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर र पञ्चकोशी युथ क्लब सुदूरपश्चिमबिच हुने छ ।
२० गते विदेशी क्लब जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबिच खेल हुने उनले बताए । यसैगरी २१ गते लालीगुुराँस एसोसियसन क्लब पोखरा र सातदोबाटो युथ क्लब ललितपुर भिड्ने छन् । २२ गते विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौँ र साविक विजेता राइजिङ स्टार क्लब सुनवल नवलपरासीबिच हुने उनले जानकारी दिए ।
कुल आठ टिममध्ये जित्ने चार टिम सेमिफाइनल प्रवेश गर्ने र पराजित हुने टिम गोल्डकपबाट बाहिरिने छ । पहिलो सेमिफाइन २३ र दोस्रो सेमिफाइनल खेल २४ गते हुने छ । पहिलो र दोस्रो सेमिफाइनलमा जित्ने टिम कोहलपुर गोल्डकपको फाइनल प्रवेश गर्ने छन् भने हार्ने टिमको चौथो संस्करणको कोहलपुर गोल्डकप यात्रा टुङ्गिने छ ।

फाइनल पुग्ने टिमबिच २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स आयोजना गरिने म्याच कमिस्नार सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । २६ गते गोल्डकपको फाइनल खेल हुने छ । प्रतियोगिताका संयोजक कर्ण बस्नेतले खेलमैदान, आवास, सुरक्षा तथा दर्शक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले आवश्यक सबै पूर्वाधार तथा समन्वयको काम सम्पन्न गरिएको उनले बताए । उनका अनुसार दर्शकहरूलाई प्रतियोगिताका सबै खेल निःशुल्क हेर्ने व्यवस्था समेत मिलाइएको छ ।
प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै फुटबलप्रेमी दर्शकलाई उच्चस्तरीय खेलको अनुभूति दिलाउने अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले बताए ।
आयोजकका अनुसार खेलमार्फत पर्यटनको विकास गर्ने उद्देश्यले फाइनल पुग्ने दुई टिमलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनुका साथै उनीहरूलाई स्थानीय होमस्टेको मौलिक खानपान र बासको अनुभव समेत गराइने व्यवस्था मिलाइएको छ ।
प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगर पुरस्कार प्राप्त गर्ने छन् । प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन)ले जितेको थियो ।
दोस्रो संस्करणको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’को उपाधि त्रिभुवन आर्मी क्लब र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’को उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेका थिए ।


