समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ४८ घण्टे अल्टिमेटम सकिन लाग्दा इरानले कडा प्रतिक्रिया दिएको छ र कुनै पनि आक्रमणको सामना गर्न तयार रहेको जनाएको छ।
- इरानले अमेरिका अघि बढे हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने र खाडी क्षेत्रका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएको छ।
- यो तनावले मध्यपूर्वमा अस्थिरता बढाउँदै विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय राजनीतिमा गम्भीर प्रभाव पार्ने देखिएको छ।

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुलाउन दिएको ४८ घण्टे अल्टिमेटम सकिन लाग्दा इरानले कडा प्रतिक्रिया दिएको छ । इरानले जस्तोसुकै आक्रमणको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको हो ।
बीबीसीका अनुसार ट्रम्पले दिएको समयसीमा मार्च २४ को बिहान ३ बजे सकिँदैछ । उनले हर्मुज जलमार्ग तत्काल नखोले इरानका ऊर्जा प्लान्टहरू “पूर्ण रूपमा नष्ट गरिने” चेतावनी दिएका थिए ।
तर इरानी नेतृत्वले अमेरिकी धम्कीको कडा प्रतिवाद गर्दै यदि अमेरिका अघि बढेमा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरिने चेतावनी दिएको छ । साथै, खाडी क्षेत्रभर रहेका ऊर्जा, तेल, प्रविधि र जल प्रशोधन केन्द्रहरूलाई पनि निशाना बनाइने इरानले जनाएको छ ।

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी दबाब र धम्कीले इरानको एकता झन् बलियो भएको दाबी गरेका छन् । उनले युद्धको कुनै पनि परिस्थिति सामना गर्न देश तयार रहेको बताएका छन् ।
यसअघि अमेरिका र इजरायलले तेहरानमा आक्रमण थालेपछि इरानले हर्मुज जलमार्ग बन्द गरेको थियो । यस घटनाले मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ ।
हर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय बजारमा गम्भीर असर पार्न सक्छ । बढ्दो अमेरिका–इरान तनावले विश्व राजनीति र ऊर्जा सुरक्षामा नयाँ चुनौती सिर्जना गरेको विश्लेषण गरिएको छ ।


