समाचार सारांश
- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गरे ।
- उनले कांग्रेसलाई सबैभन्दा जिम्मेवार र जनताप्रति उत्तरदायी पार्टीको रूपमा उल्लेख गर्दै, यसपटक युवा, महिला र पिछडिएका समुदायलाई विगतभन्दा बढी अवसर दिइएको स्पष्ट पारे।
- बाँकेमा आयोजित बृहत् जिल्ला भेलामा कांग्रेसलाई झनै बलियो बनाउने आह्वान गर्दै, विशेष महाधिवेशनपछि पार्टीमा नयाँ ऊर्जा र शक्ति पैदा भएको दाबी गरे ।

नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपालगञ्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशको सबैभन्दा पुरानो पार्टी अहिलेको माग र अवस्थालाई ध्यानमा राखेर सबैभन्दा नयाँ बनेर आएको बताए ।
उनले भने, – “नेपालका लागि कांग्रेस नै सबैभन्दा जिम्मेवार र जनताप्रति उत्तरदायी पार्टी हो । जब जब देशलाई बलिदान र त्याग आवश्यक पर्यो, त्यति बेला यही पार्टीले देशको नेतृत्व गरेको इतिहास साक्षी छ ।” नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखेर जनताको माग र चाहना अनुसार कांग्रेसले दुई तिहाइ युवालाई उम्मेदवार बनाएको स्पष्ट पारे । उनले यस पटक महिला र पिछडिएका समुदायलाई पनि विगतभन्दा दोब्बर सङ्ख्यामा टिकट दिएको बताए ।

धेरै पटक कांग्रेसले आफू पराजित भएर पनि देश र जनतालाई जिताएको स्मरण गर्दै उनले संविधानको रक्षा र देशको प्रगति एवं उन्नतिका लागि कांग्रेसको विकल्प नरहेको उल्लेख गरे । संविधानका पिता स्वर्गीय सुशील कोइरालाको जिल्लामा कांग्रेसलाई झनै बलियो बनाएर देशभरि देखाउने अभिभारा यहाँका नेता–कार्यकर्ताको काँधमा आएको उनको भनाइ थियो । विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा नयाँ ऊर्जा र शक्ति उत्पन्न भएको दाबी उहाँले गर्नुभयो ।
नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य गोपाल दहित, बाँके क्षेत्र नं. १, २ र ३ का उम्मेदवार क्रमशः नारायण गौडेल, सुधांशु कोइराला र अमरसिंह पुन लगायतले नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गर्नुभयो । सो अवसरमा बाँकेका तीनवटै क्षेत्रका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।


