दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु

सदरलाइन संवाददाता १४ माघ २०८२, बुधबार २१:४८
 

नेपालगञ्ज : दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म संचालन हुनेछ । मेलाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पानसमा बत्ती बालेर उद्घाटन गरे । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगञ्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख विष्टले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न प्रदर्शनी मेला महत्वपूर्ण सावित हुँदै गएको बताए । महिला उद्यमी संघ नेपालक अध्यक्ष दर्शना श्रेष्ठले बाँकेले उत्कृष्ट काम गर्दै आइरहेको बताइन् । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, केएल दुगद ग्रुप नेपालगन्जका सिइओ प्रदिप छाछेड लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको १०औं संस्करण नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा संचालन भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगद ग्रुपको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा ७५ वटा स्टल रहेको प्रदर्शनी संयोजक एवम महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताइन् । प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी- कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको लागि राखिने महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताइन् ।

करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनीले नव-आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन् । महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोख्ररेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताइन् ।

प्रदर्शनी उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापा मगर, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लायन्स क्लबका पूर्व डिस्ट्रिक गर्भनर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उद्योगी, ब्यवसायी, नागरिक अगुवा, पत्रकार, समाजसेवी लगायत उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोराही लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा

१४ माघ २०८२, बुधबार २१:४८
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताएका छन् । घोराही उप-महानगरपालिकाको ४८ औं नगर स्थापना दिवस तथा ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक […]