
नेपालगञ्ज : पर्वको बेलामा वा स्थलगत बाटो अबरुद्ध भएको बेलामा मनोमानी तरिकाले नेपाली विमान कम्पनीहरुले भाडा दर कायम गरेपछि सेवाग्राहीहरु मारमा पर्दै आएका छन् ।
स्थलगत बाटो अबरुद्ध भएको अवस्थामा सुलभ दरको भाडा कायम गरी सेवा दिनु पर्नेमा विमान कम्पनीहरुले मनोमानी तरिकाले भाडा बढाउने सो कार्यको नियामक निकाय नागरिक उड्यन प्राधिकरणले पनि विमान कम्पनीहरुकै दररेटलाई कायम गरी जनताको ढाड सेक्ने काम भएको गुनासो आएको छ ।
नेपाली विमान कम्पनीहरुले सेवाग्रहीको ढाड नै सेक्ने गरी पर्वको मुखमा भाडा बढाएपछि सेवाग्रहीहरुले यसको विरोध जनाउदै तत्काल पुरानै भाडा कायम गर्न माग गरेका छन् ।
गैर सरकारी संस्था महासंघ केन्द्रीय सचिव समेत रहेका नमस्कार शाहले विमान कम्पनीहरुले गरेको मनोमानीलाई नागरिक उड्यन कार्यालयले सहमति जनाएर सेवाग्राहीमाथी चर्के भाडा कायम गरेको आरोप लगाए ।
उनले भने–‘ नागरिक उड्यन कार्यालयल नेपाली विमान कम्पनीहरुको मनोमानीलाई संस्थागत गरेर सेवाग्राही माथी आर्थिक भार थपेको छ । यो तत्काल सच्चिनु पर्छ ।’ उनले पुरानै भाडा दर कायम गर्नु पर्नेमा जोड दिए ।
सुशासनको क्षेत्रमा क्रियाशिल रहेका उनले हवाई कम्पनीहरुले पर्व परेको बेला र स्थलगत बाटो बन्द भएको बेलामा एक्कासी हवाई टिकट दोब्बर बढाईनु र नियामक निकायले त्यसलाई नै लालमोहर लगाई दिनु पनि नीतिगत भ्रष्टाचार भएको ठोकुवा गरे ।

उनले भने–‘ भ्रष्टाचार र सुशासन कायम गर्न बनेको सरकार गठन भएको केही दिन भित्रै नीतिगत भ्रष्टाचार हुने गरी पर्यटन मन्त्रालय अन्तरगतको नागरिक उड्यन कार्यालयबाट जारी गरिएको नया अधिकतम भाडा दरले सिधै सेवाग्राहीको ढाड सेकेको छ । यो नीतिगत भ्रष्टाचारको अन्त्य भई पुरानै दरमा फर्कनु पर्छ ।’
नेपालगञ्ज विमानस्थलमा काठमाण्डौ जान विमान कुरेर बसेकी सृजना रावलले विमिान कम्पनीहरुले पर्बको बेलामा छुट दिनु भन्दा पनि झण्डै दोब्बर बढी भाडा बढाएर सेवाग्राहीलाई दुख दिएको आरोप लगाईन ।
नेपालगञ्ज विमानस्थलमा पोखराको जाने तयारीमा रहेकी पोखरा छोरेपाटनकी निर्माला सापकोटाले स्थलगत बाटो अबरुद्ध भएको अवस्थामा पर्वको बेलामा आफु जस्ता सेवाग्राहीलाई अत्यन्तै मर्का पर्ने गरी हवाई टिकट बढाईनु दुखद भएको बताईन ।
नेपालगञ्जका मनिश रावतले विमान कम्पनीले सेवाग्राहीको मागको आधारमा सिजन र अफ सिजन भनेर टिकट बढाउनु भन्दा सधै एकनासको एउटै दर रेटको टिकट राख्न सुझाव दिए ।
उसोत विमान कम्पनीहरुले स्थलमार्ग अबरुद्ध हुँदा र पर्वको बेलामा हवाई टिकट पाउनै मुस्किल हुने गरेको र पाई हाले पनि अधिक महंगो हुने जनगुनासो आई रहेको बेलामा नियामक निकाय नागरिक उड्यन प्राधिकरणले पनि विमान कम्पनीको मनोमानीलाई स्वीकृत गरेर जारी गरेको दररेट सेवाग्राहीले झण्डै दोब्बर भाडा तिर्न बाध्य हुनु परेको छ । नागरिक उड्यन प्राधिकरणले भाडादरमा पुनः विचार गरी व्यवहारिक दररेट कायम गर्न सर्बसाधारणको माग छ ।


