
नेपालगञ्ज : तिहार नजिकिँदै गर्दा नेपालगञ्जस्थित भारतीय सीमावर्ती बजार रुपईडिहा बजारमा नेपाली उपभोक्ताको भिड बढ्दै गएको छ । दसैँदेखि नै सुरु भएको चहलपहल अहिले थप बढेको छ ।
दिनभर रुपईडिहा बजार भिडभाडले भरिने गरेको छ । रुपईडिहाको यो बजार अहिले नेपाली ग्राहकले धानेको छ । यो समयमा खाद्यान्नदेखि कपडासम्मका सामान किन्न हजारौँ नेपाली ग्राहक रुपईडिहा पुग्ने गरेका छन् । पैदल यात्रुको लस्कर देखिन्छ भने मोटरसाइकलमा भारत पस्न खोज्नेको लाइन पनि लामो हुने गरेको छ ।

नेपालगञ्ज–१३ की रञ्जिता साहु सामान्य किनमेलका लागि रुपईडिहा बजार पुगेकी थिइन् । उनले भनिन, “आफूलाई चाहिने लेडिज सामान किन्न आएकी हुँ । नेपालगञ्जभन्दा केही सस्तो पनि पाइन्छ ।” खाद्यवस्तु नेपालगञ्जभन्दा रुपईडिहामा केही सस्तो हुने उपभोक्ता बताउँछन् । नेपाली किनमेलकर्ताको बढ्दो आकर्षणले सीमावारिका व्यापारी भने चिन्तित भएका छन् ।
नेपाली व्यापारीका अनुसार रुपईडिहा बजारको प्रभावले सबैभन्दा बढी मार नेपालगञ्जको व्यवसायमा परेको छ । बढ्दो सीमापारि किनमेलका कारण नेपालगञ्ज र खजुराका बजारमा कारोबार सुस्त छ ।


