नेपालगञ्ज : घरमै बसेर आम्दानी गर्न सकियोस भनेर बाँकेको नेपालगञ्ज उपमहानगर वडा नं. १ र २ का गृहणी महिलाका लागि सम्बन्धित वडा र नारि विकास केन्द्रसंगको सहकार्यमा दुई दिने कागजको सुगन्धित धुप बनाउने तालिम आयोजना गरिएको छ ।
गृहणी महिलालाई लक्षित गरी नारि विकास केन्द्रसंगको सहकार्यमा नेपालगञ्ज उपमहानगर वडानं. १ र २ ले दुईदिने कागजको सुगन्धित धुप बनाउने तालिम आयोजना गरिएको हो ।
नेपालगञ्ज–२ घरबारीटोलकी सिता खड्काले धुप बनाउने तालिमबाट सिकेको सिपले घरकाज सकेर खाली भएको समयलाई सदुपयोग गरी आयआर्ज गर्न सकिने भएको बताईन ।
उनले भनिन्– ‘घरकाज गरेर फुर्सदको मोबाईल हेरेर खेर जाने समयलाई धुप बनाउन प्रयोग गरी आम्दानी गर्न सकिने भएको छ । यस्तो तालिम अलि धेरै दिनको आवश्यक छ ।’
बुटवलबाट दुई दिनको तालिमको सहजिकरण गर्न आएकी प्रशिक्षक लक्ष्मि ध्वजुले कागजको सुगन्धित धुपको माग अत्याधिक रहेको र गृहणीले तालिममा सिकेर घरमै घरकाज सकेर धुप बनाएर आम्दानी पनि गर्न सक्नुको साथै आफ्नो प्रयोगको लागि पनि हुने भएकोले विभिन्न स्थानीय तहबाट तालिमको माग बढ्दो रहेको बताईन ।


उनले सुगन्धित घुप बनाउनको लागि धुपी सल्लाको धुला, कपुर, सालधुप, विभिन्न फुलको धुलो, नेपाली कागज, लोबाङ्गलगायतको सामाग्री प्रयोग हुने गरेको जानकारी दिईन ।
नेपालगञ्ज उपमहानगर वडानं. १ र २ संग सहकार्य गरी तालिम सञ्चालन गर्दै आएको नारि विकास केन्द्र नेपालगञ्जका कोषाध्यक्ष तथा तालिम संयोजक रचना श्रेष्ठले बताईन ।
उनले केन्द्रले तालिम मात्र नदिई तालिमका सहभागिले उत्पादन गरेको धुपको बजारिकरण समेत गरिदिने बताईन । उनले भनिन–‘ हामीले तालिम दिएका गृहणीले उत्पादन गरेको धुपलाई ब्राण्डिङ्ग गरी प्याकिङ्ग गरेर बजारमा लैजाने गरेका छौ ।’
सुगन्धित धुप मानव जीवनका हरेक संस्कारको लागि आवश्यक हुन्छ । गृहणी महिलाहरुले घरको कामकाज गरी बचेको समयको उपयोग गर्दै उत्पादन गरेको धुपको बजारीकरण संस्थाले नै गरिदिएपछि गृहणी महिलाहरु आत्मनिर्भर हुने विश्वास गरिएको छ ।