२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

बेमौसमी वर्षातले बाँकेका ईट्टा उद्योगमा ठूलो क्षति



नेपालगञ्ज :  गत बुधवार राती आएको हावाहुरीका साथै परेको पानीले बाँकेका ईट्टा उद्योगीलाई ठूलो क्षति व्यहोर्नु परेको छ । विहिवार विहानसम्म भएको वर्षातले बाँकेका ईट्टा उद्योगमा साढे ५ करोड बराबरको काँचो ईट्टा नोक्सान भएको हो ।

नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वलीले चैत २७ र २८ गते आएको हावाहुरी तथा पानीले बाँकेमा रहेका ६० बढी ईट्टा उद्योगहरुमध्ये आधाभन्दा बढी उद्योगहरुमा नोक्सानी भएको बताए ।

उनले विभिन्न ईट्टा उद्योगीहरुबाट संकलन गरिएको तथ्यांक अनुसार करीब १ करोड ५० लाख काँचो ईट्टा नोक्सानी भएको बताउँदै सोको अनुमानित मूल्य करीब ५ करोड ५० लाख बराबर नोक्सानी भएको जानकारी दिए ।

अध्यक्ष वलीका अनुसार श्रद्धा ईट्टा उद्योग, चाचा ईट्टा उद्योग, चाँद ईट्टा उद्योग, देउती ईट्टा उद्योगलगायत ३० बढी ईट्टा उद्योगहरुद्वारा तयार गरिएको कच्चा पदार्थमा हावाहुरी तथा पानीले नोक्सानी भएको बताए ।

एउटा काँचो ईट्टा तयार गर्दा ५ रुपैयाभन्दा बढी खर्च लाग्ने गरेको बताईएको छ । काँचो ईट्टा सुकाउनका लागि खुला ठाउँमा राखिएको बेला सो भित्र्याउन नपाउँदै हावाहुरी तथा पानी परेको हुँदा नोक्सानी भएको नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका कार्यालय सचिव सुर्यमणि पौडेलले बताए ।

चाँद ईट्टा उद्योगका सञ्चालक चाँदले दिएको जानकारी अनुसार बुधवार राती आएको हावाहुरी तथा पानीले गर्दा उद्योगमा करीब १० लाख बढी ईट्टा नोक्सानी भएको छ ।

आफ्नो पीडा पोख्दै सञ्चालक चाँदले ‘हाम्रो पीडा कसले बुझ्ने, हामी प्रति सहानुभूतिसम्म कसैले प्रकट गर्दैनन् । हालका ईट्टा उद्योगहरु प्रायः बैंक ऋणबाट सञ्चालनमा रहेका छन् । तर बैंकले ब्याज समयमा नपुगे फोन गर्छन, नोक्सानी कति भयो, बुझ्न कहिल्यै फोन गर्दैनन्’ उनले भने ।

यसैगरी बेमौसमी वर्षातले ईट्टा उद्योगमा धेरै नोक्सानी गरेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ स्थित रमन ईट्ट उद्योगका प्रोप्राइटर पंकजकुमार मिश्रले आफ्नो उद्योगमा १४ लाख बढी काँचो ईट्टा नोक्सानी भएको बताए ।

सम्बन्धित सरोकारवाला पक्षहरुको यसतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउँदै ईट्टा उद्योगीहरुले काँचो ईट्टाको बीमा व्यवस्था भई दिएको भए उद्योगीहरुलाई केही राहत मिल्ने थियो । यसतर्फ सरोकारवाला निकायले पहल गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार
ताजा समाचार