Sadarline
२०८३ असोज २७ , मंगलबार

जनप्रतिनिधिको ध्यान हरेक नागरिकलाई धनी बनाउने तर्फ जानुपर्छ  : केपी ओली



काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग जोडिएर काम गर्न निर्देशन दिएका छन ।

नेकपा एमाले वाग्मती प्रदेशले मध्यपुरथिमिको बोडेमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन ।

‘जनप्रतिनिधिको मुख्य ध्यान हरेक नागरिकलाई कसरी धनी बनाउने, कसरी उत्पादन बढाउने र बचत गर्न सक्ने ठाउँमा पु¥याउने भन्नेमा केन्द्रित हुनुपर्छ, आफू धनी बन्ने कुरामा होइन’, अध्यक्ष ओलीले भने ।

उनले जनप्रतिनिधिलाई प्रोटोकलमा केन्द्रित नहुन आग्रह गर्दै जनतासँग घुलमिल हुन सुझाव दिदै भने–‘जनताको सुख–दुःखमा साथी बन्नुस्, आफूलाई मन पर्ने काम होइन, जनतालाई मन पर्ने काम गर्नुस ।’

एमाले अध्यक्ष ओलीले स्वार्थी र पछौटे तत्वसँग जोगिन जनप्रतिनिधिलाई निर्देशन दिए । हरेक मान्छेलाई असल बनाउने र उनीहरूको बलमा सामाजिक रूपान्तरण गर्ने गरी अगाडी बढ्न उनको आग्रह थियो ।

उनले अब जनता र पार्टीको काममा सक्रिय नेता कार्यकर्ता मात्र पार्टीको प्राथमिकतामा पर्ने कुरामा जोड दिदै भने–‘देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तब मात्रै टिकट पाइन्छ ।’

ओलीले सदस्यताको भरमा अब पार्टीले टिकट नदिने प्रष्ट पार्दै सदस्यता लिएको यति वर्ष भयो भन्ने भन्दा पनि पार्टी र जनताको हितमा कति काम ग¥यो भन्ने कुरा मूल्याङ्कनको आधार बन्ने ओलीले बताए । ‘अब व्यक्तिको काम हेरेर मात्र टिकट दिन्छौँ’, उनले भने ।

एमालेका हरेक तहले प्रशिक्षण र भेला गर्ने र त्यसपछि परीक्षा लिएर उत्तीर्ण भएकाको रेकर्ड राखिने पनि उनले बताए । पार्टीले लिएको परीक्षामा पास भएकाले मात्रै पार्टीभित्र र संसदीय निर्वाचनमा टिकट पाउने उनले बताए ।

अब कार्यकर्ताको मूल्याङ्कन, उम्मेदवारी र जिम्मेवारीको मुख्य आधार कार्यक्षमता र कार्य दक्षतालाई बनाइने उनले स्पष्ट पारे । लामो इतिहास छ भन्दैमा त्यसका आधारमा मात्रै अबका चुनौतीको सामना गर्न नसकिने ओलीले बताए ।

बुधबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका अध्यक्षहरू, वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, एक जिल्लाबाट एक वडा अध्यक्षलगायत एक सय भन्दा बढीको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम शुक्रबासम्म चल्ने नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार
ताजा समाचार