२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

मृत भेटिएको बाघले विषादी सेवन नगरेको रिपोर्ट सार्वजनिक



नेपालगञ्ज : केही दिनअघि बाँकेको एक सामुदाकि वनमा बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको छ ।

बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार उक्त पाटेबाघको शव परीक्षण रिपोर्टमा आन्तरिक करङ्गमा चोटपटक लागेको, भोको भएको र निमोनियाको सङ्केत देखिएको थियो । बाघले कुनै विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको बुढाथोकीले जानकारी दिए ।

जङ्गलमा पानीको खाडलनजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोको जस्तो देखिने मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृत अवस्थामा फेला परेको उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशङ्कामा शव परीक्षण गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा. शारदा श्रेष्ठसहितको प्राविधिक टोलीले शव परीक्षणका लागि बाघको मृत शरीरबाट नमूनाहरु सङ्कलन गरेको मुद्दा फाँट अधिकृत बुढाथोकीले जानकारी दिए । सङ्कलन गरिएका नमुहरुको नेपाल प्रहरीको नेपालगञ्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिए ।

गत असोज ९ गते बाँकेको राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएका थियो । उक्त पाटेबाघले एक हप्तादेखि स्थानीयका दर्जनौं घरपालुवा पशुचौपायामाथि दैनिक जसो आक्रमण गरी मार्ने र घाइते बनाउँदै आएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार
ताजा समाचार