२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

सुर्खेत कारागारका १०१ कैदीले मतदान गर्न पाउने



सुर्खेत : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका १०१ कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिए ।

उनका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मताधिकार प्रयोग गर्नेछन् । कारागार कार्यालयबाट १०२ जना कैदीबन्दीको नामावली निर्वाचन आयोगमा पठाइएकामा एक जनाको नाम मात्र मतदाता नामावलीबाट छुटेको उनले बताए । कारागारमै मतदान केन्द्र तोकिएकाले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो, जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा तीन सय ७२ कैदीबन्दी छन् ।

कारागार कार्यालयका अनुसार तीन सय ३२ पुरुष, ४० महिला र आश्रित चार बालबालिका छन् । मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरू अस्थायी मतदाता बन्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २५ गते शुक्रबार
ताजा समाचार