२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

निर्वाचन आचार संहिता पालना गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता



नेपालगञ्ज : जिल्लामा क्रियाशील यूवा तथा विद्यार्थी संगठनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँकेस्थित राजनीतिक दल निकट यूवा तथा विद्यार्थी संगठन एवं स्वतन्त्र, साझा यूवा/किशोरी संगठनका प्रमुख एवं प्रतिनिधीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा यूवा/विद्यार्थीको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

निर्वाचन अधिकृत, प्रमुख राजनीतिक दल आवद्ध यूवा संगठन तथा विद्यार्थी संगठनका प्रमुख एवं प्रतिनीधी एवं यूवा तथा किशोरी सञ्जालका प्रमुख एवं प्रतिनिधी, संवादकर्ता लगायतको सहभागिता रहेको कार्यक्रममा निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिता कार्यान्वयन गर्नुपर्ने कुरामा सबै एकमत देखिएका हुन् । विद्यार्थी नेताहरुले निर्वाचन गतिविधि र प्रचार प्रसारलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचन द्वन्द्वरहित बनाउने वचनवद्धता समेत प्रकट गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं अनुगमन अधिकृत नगेन्द्र चौलागाईले निर्वाचन आचार संहिताको पालना गर्नु नै निर्वाचन शान्तिपूर्ण र द्धन्द्धरहित बनाउनु भएकाले स्वयंबाट शुरु गर्नु पर्ने बताए । अनुगमन अधिकृत चौलागाईले खर्चिलो र तडक भडकको प्रचारलाई निरुत्साहित गर्न यूवा/विद्यार्थी संगठनको अंह भूमिका हुनुपर्नेमा जोड दिए ।

नेपाली काँगे्रस निकट नेबिसंघ बाँकेका कार्यवाहक अध्यक्ष चक्र रावतले निर्वाचन आचार संहिता र मतदाता शिक्षालाई व्यापक र प्रभावकारि बनाइनु पर्ने आवश्यक्ता औल्याए । जिल्ला यूवा क्लव सञ्जाल बाँकेका अध्यक्ष आषीश बर्माले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन यूवा विद्यार्थी संगठनको महत्वपूर्ण भूमिका रहेपनि निर्वाचन आयोगले यूवा र आचारसंहिता लक्षित प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो गरे ।

संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट अखील क्रान्तिकारी बाँके अध्यक्ष सुरेन्द्रजंग शाह(जम्वो), नेपाल तरुण दल बाँके सचिव विनोद रिजाल, जसपा निकट समाजवादी विद्यार्थी यूनियन जिल्ला अध्यक्ष निष्पक्ष जंग शाह, जिल्ला यूवा क्लव सञ्जाल बाँके सचिव राजन बर्मा, किशोरी क्लव सञ्जाल बाँके अध्यक्ष अनु रावत लगायतले पनि निर्वाचन आचार संहिता पालना बारे आआफनो सुझाव राखेका थिए ।

प्रकाशित मिति : २०७९ वैशाख १९ गते सोमबार
ताजा समाचार