२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

शक्ति समुहद्वारा बाँकेमा नयाँ परियोजना सञ्चालन



नेपालगञ्ज : मानव बेचबिखन तथा ओसारपसार विरुद्धमा काम गर्दै आएको शक्ति समुहले बाँकेमा नयाँ परियोजना सञ्चालन गरेको छ । समुहले सोमवार नेपालगञ्जमा सरोकारवाला निकायलाई नयाँ परियोजनाका बारेमा जानकारी दिएको छ ।

शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङले बाँकेमा नाकाबाट उद्धार तथा संरक्षण परियोजना सञ्चालनमा ल्याएको जानकारी दिइन् । उनका अनुसार एक वर्षे यो परियोजनाले विद्यालयस्तरमा जनचेतनामुलक गतिविधि गर्ने, विद्यालयलाई कम्प्युटर प्रदान गर्ने, महिला तथा बालबालिकालाई जोखिममा पर्न नदिने र परेकाको खोजी गर्नेदेखि उद्धार गर्नेसम्मको काम गर्नेछ ।

परियोजनाले बाँकेका ५ सय विद्यार्थी, तीन सय शिक्षक र अभिभावकलाई मानव बेचबिखन तथा ओसारपसारका बारेमा जानकारी दिनेछ । विद्यालयको छनोट शिक्षा इकाई र नगर शिक्षा शाखासँग समन्वय गर्ने तामाङले बताइन् ।

समुह बाँकेकी संयोजक निर्मला पौडेलले परियोजनाले मनोरञ्जन क्षेत्रमा भइरहेको मानव बेचबिखन, बाह्य बेचबिखन र उच्च जोखिममा रहेका बालबालिकालाई समेटेर काम गर्ने बताइन् । उनले बिद्यालयमै बालबालिकालाई यौन दुव्र्यवहार, दलाल, बेचबिखन र जोखिमपूण यात्रा बेचबिखनको बदलिँदो स्वरुपबारे जानकारी दिने बताइन् ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला वविकास शाखाकी प्रमुख शोभा शाह, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, डीएसपी मधुसुदन न्योपाने, हाम्रो सम्मान परियोजनाका कमला पन्त, इन्सेकका सरस्वती मल्ल, सशस्त्र प्रहरी निरीक्षक जीवन बुढालगायतले सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमबार
ताजा समाचार