२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

बर्दियाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाह मुक्त बनाउने सामुहिक प्रतिवद्धता




बर्दिया : बर्दियाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र सामाजिक कुरितीको रुपमा रहेको बालविवाह मुक्त नगरपालिका बनाउनको लागि सामुहिक प्रतिवद्धता सबै सरोकारवालाले जनाएका छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत संस्थाद्वारा नगरपालिकाको समन्वयमा आयोजना गरिएको तीन दिने बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका निर्माण कार्यशालामा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजना गरिएको सो कार्यशालामा मधुवन नगरपालिकालाई बालविवाहमुक्त घोषणा गर्नका लागि निर्देशिका निर्माण गर्ने उदेश्यले पालिकाभित्र बालविवाहको अवस्था, चुनौती र घोषणा गर्नका लागि चाहिने आवश्यक मापदण्ड र सुचकहरु बारे व्यापक छलफल गरिएको थियो ।

कार्यशालामा नगरप्रमुख क्षेत्रीले पालिकालाई विक्रम संवत २०८० साल भित्र बालविवाह मुक्त घोषणा गर्ने जनाउँदै सो का लागि सबैले संयुक्त रुपमा अघि बढ्ने गरी योजना बनाईएको बताए ।

सो कार्यशालामा नगरपालिकाका उपप्रमुख शुबरानी थारु, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, ९ वटै वडाका वडा अध्यक्षहरु, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा, शिक्षा शाखा प्रमुख नारायण खनाल, प्रहरी प्रतिनिधि लगायत सबैले बालविवाहमुक्त घोषणा गर्ने सामुहिक प्रतिवद्धता जनाएका थिए ।

मधुवन नगरपालिकाले क्लबको सहयोगमा बाल संरक्षण नीति, कार्यविधि, बाल विवाह विरुद्ध रणनैतिक योजना तयार गरि कार्यान्वयन समेत गरिरहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए । सो कार्यशालामा सहभागि सबै सरोकारवालाहरुले पालिकालाई बालविवाह मुक्त घोषणा गर्न आफुहरुले दिनरात प्रयास र कार्य गर्ने समेत बताएका थिए ।

प्रकाशित मिति : २०७८ मंसिर २६ गते आइतबार
ताजा समाचार