२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

होटेलमा नास्ता खाने क्रममा कैदी भागेको खुलासा



नेपालगञ्ज : अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ । घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ ।

प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज पनि शुक्रबार नै लगिसकेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा चरम लापरबाही देखिएको बताए । सरासर अस्पताल नलगेर किन रेष्टुराँमा नास्ता खान लगिनुले चरम लापरबाही र मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे ।

कर्तव्य ज्यानमुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका घोराही कारागारका नाइकेलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हतकडी पनि लगाइएको थिएन । परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु३४प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल लगेका थिए ।

तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको जानकारी दिइएको छ । यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो ।

स्रोतका अनुसार कारागारका नाइकेलाई हतकडी लगाउने चलन छैन । कुनै पनि बिरामी नरहेका परियारलाई किन अस्पताल उपचारका लागि लगिएको हो भन्ने कुरा नै रहस्यमय रहेको एसपी काफ्लेले बताए ।

जिल्ला कारागार घोराहीका जेलेर युवराज परियारले भने रिपोर्टिङका आधारमा छाला सम्बन्धी उपचार गराउनका लागि नाइके परियारलाई उपचारका लागि पठाउनु परेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार
ताजा समाचार