२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

क्रियाशील सदस्यता विवादका कारण बाँकेमा वडा अधिवेशन अन्योलमा 



नेपालगञ्ज : क्रियाशील सदस्यता विवाद नसुल्झिएका कारण बाँकेमा नेपाली कांग्रेसको १४औं महाधिवेशनका कुनै पनि अधिवेशन सुरु हुन सकेको छैन ।
शुक्रबारदेखि वडा तहको अधिवेशन सुरु हुनुपर्नेमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशनका कुनै पनि प्रक्रिया सुरु नभएको बाँके कांग्रेसका युवा नेता सुधांशु कोइरालाले जानकारी दिए ।

कांग्रेसको क्रियाशील सदस्यता सिफारिस वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाउनुपर्ने केन्द्रीय सर्कुलर भए पनि बाँके क्षेत्र नम्बर १ मा भने क्षेत्रीय सभापति माधवराम खत्रीले मनोमानी ढंगले वर्तमान क्षेत्रीय कमिटीका सचिव समेत रहेका डिल्ली गिरी लगायतको नाम काटेर पठाएपछि विवाद चुलिएको उनको भनाइ छ ।

क्षेत्रीय सभापति खत्री संस्थापन पक्षका हुन् । उनले गरेको सिफारिस प्रक्रियागत नहुँदासमेत स्वीकृत गरेकाले विरोध गर्नुपरेको कोइरालाले बताए । ‘केन्द्रीय परिपत्र आवश्यक भए मौजुदा क्रियाशील सदस्य संख्याको शतप्रतिशत थप गरी सिफारिस गर्न सक्ने प्रावधान हुँदा क्षेत्रीय सभापतिले एकलौटी ढंगले केन्द्रीय परिपत्रलाई समेत लत्याउँदै सिफारिस गरेकाले हामीले विरोध गरेका हौं,’ उनले भने ।

कोइरालाले बाँकेका क्षेत्र नम्बर २ र ३ मा देखिएको विवाद सामान्य भएको, तर क्षेत्र नम्बर १ कै कारण क्रियाशील सदस्यता प्रकाशित हुन नसकेकाले वडा अधिवेशन निर्धारित समयमा सम्पन्न हुनेमा आशंका उब्जिएको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकामा सभापतिको दाबेदारसमेत रहेकी उपमेयर उमा थापामगरले क्रियाशील सदस्यता केन्द्रबाट नआएकाले सबै तहको अधिवेशन रोकिएको जानकारी दिइन् । न्युज कारखाना 

प्रकाशित मिति : २०७८ भदौ १९ गते शनिबार
ताजा समाचार