
नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिकाले वडानं २ शमशेरगञ्जमा हिन्दू समुदायको लागि व्यवस्थित आर्यघाट र गौशाला बनाउन थालेको छ । गाउँपालिकाले आर्यघाट र गौशाला निर्माणका लागि गुरु योजना समेत बनाइसकेको छ । अहिलेसम्म राप्तीसोनारीको अगैयामा शव व्यवस्थापन हुँदै आएको छ ।
अगैया पर्यटकीय स्थलका साथै सिक्टा सिंचाईको मुख्य बाँध भएको र निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले शमशेरगञ्जमा व्यवस्थित आर्यघाट गराउन थालिएको हो । यस विषयमा शनिबार सरोकारवाला निकायसंग बृहत छलफल गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नं १ का अध्यक्ष चन्द्रबहादुर वली, २ नम्बरका अध्यक्ष मदनकुमार वली, वडा नं ८ का अध्यक्ष खुमबहादुर बस्नेतसहित सुरक्षा निकायका अधिकारीले छलफल गरेका हुन् ।

जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले गाउँपालिकाले शमशेरगञ्जमा बनाउन थालेको आर्यघाट र गौशालालाई पूर्णता दिने विषयमा छलफल भएको बताए । आर्थिकको कुरा पनि आएकोले जिल्ला सभामा यो विषय उठाउने संयोजक श्रीवास्तवले प्रतिबद्धता जनाए ।
जिल्लाका आठमध्ये ६ वटा पालिकालाई पायक गर्ने भएकाले शमशेरगञ्जमा व्यवस्थित आर्यघाट गराउन थालेको अध्यक्ष लाहुराम थारुले जानकारी दिए । गाउँपालिकाको गुरु योजनामा गौशाला पनि परेको छ । अहिले पनि त्यहाँ केही भवन बनिसकेको र केही निर्माणको क्रममा रहेको छ ।


