
खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाको वडानं. ३ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर पालिका परिसरमा आयोजित कार्यक्रमका बीच गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलले घोषणा गरेका हुन ।
खजुरा गाउपालिका वडानं. ३ को विभिन्न ८ वटा टोलका २ सय ५० जनामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिए ।
सोही कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तबले बालबिवाह मुक्त वडा घोषणापत्र वडा अध्यक्ष कान्तुराम गौतमलाई हस्तान्त्रण गरेका थिए । सो अवसरमा स्थानीय किशोरी क्लवको सक्रियतामा बालबिवाह मुक्त वडा कायम राख्नको लागि विभिन्न क्षेत्रबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
सो कार्यक्रममा वडालाई बालविबाह मुक्त वडा घोषणा गर्नको लागि उल्लेखनिय सहयोग गर्ने खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विश्वकर्मा, प्लान नेपाल ईन्टरनेशनल क्षेत्रीय कार्यालय सुर्खेतका संयोजक मिना पराजुली, स्याक नेपालका शिवलाल पाण्डे, सञ्चारकर्मी शंकर खनाल, सोम गुरुङ्गलगायत दर्जन बढीलाई सम्मान गरिएको थियो ।
बाँकेमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालले बालविवाह बिरुद्धको परियोजना सञ्चालन गरेको छ । खजुरा गाउपालिका वडा नं. ३ मा एक वर्षमा ६४ विवाह दर्ता भएको छ । भने ईलाका प्रहरी कार्यालय धनौली खजुरामा सोही वडा अन्तरगतको २ वटा बालविबाह बिरुद्ध उजुरी परेको पाईएको छ ।





प्रतिक्रिया दिनुहोस्