२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा ३८ स्वास्थ्यकर्मीसहित २०९ राष्ट्रसेवक कर्मचारी भए संक्रमित



नेपालगञ्ज  : बाँकेमा हालसम्म ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारीमा गरी २०९ पेशाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना महामारी शुरु भएको समयदेखि हालसम्म बिभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको पिसिआर परीक्षणबाट ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारी गरी २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हालसम्म कोरोनाविरुद्धको युद्धमा ३८ जना स्वास्थ्यकर्मी, ९६ जना सुरक्षाकर्मी र ३७ जना रास्ट्रसेवक कर्मचारीमा संक्रमित भएको जानकारी दिए ।

बाँकेमा संक्रमित हुनेहरुमा चिकित्सक ७, स्टाफ नर्श १७, ल्यावकर्मी १, पारामेडिक्स ६ र हेल्पर ७ गरी ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन । यसैगरी प्रहरी ५१, सशस्त्र प्रहरी १५, नेपाली सेना ३०, कैदीबन्दी १०, थुनुवा २, नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधि र कर्मचारी २२, राप्तीसोनारी जनप्रतिनिधि १, आन्तरिक राजस्व कार्यालयका ११, जिल्ला अदालत ५, यातायात १, अख्तियार १, नेपाल राष्ट्रिय बाणिज्य बैंक १८, भन्सार कार्यालय २ नेपालगञ्ज मेडिकल कलेज प्रशासनिक कर्मचारी २ गरी १७१ जना संक्रमित भएका छन् ।

संक्रमण देखिएका कर्मचारीहरुमा कार्यालय प्रमुखदेखि सात जना डाक्टरहरु समेत छन् । नेपालमा गत चैत्र ११ देखि शुरु भएको महामारीको नियन्त्रण प्रयास हालसम्म पनि जारी छ ।

यो अवधिमा स्वंय कोरोना नियन्त्रण तथा रोकथाम गर्न अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुलाई समेत संक्रमणले आक्रमण गरेको छ । मंगलबार साँझसम्म जिल्लामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ६३ जना डिस्चार्ज भई घर फर्किदा ४ जनाले ज्यान गुमाउनु परेको छ ।

 

प्रकाशित मिति : २०७७ भदौ १० गते बुधबार
ताजा समाचार