सदरलाइनडटकम,
बैजनाथ (बाँके) : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको बिरुद्ध एकजुट हुँदै चुनौतीको सामना गर्ने र अवसरलाई सदुपयोग गरी गाउपालिकाको विकास गर्ने नीति पारित गर्दै बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो नियमित गाउँसभा सम्पन्न गरेको छ ।
मंगलबार सम्पन्न भएको गाउँसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । गाउँसभामा गाँउपालिका अध्यक्ष मानबहादुर रुचालले प्रस्तुत गरेको सो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रथामिकतामा राखिएको छ ।
गाउपालिकाका अध्यक्ष रुचालले कोबिड–१९ को कारण रोजगारी गुमाएर घर फर्केका युवा जनशक्तिका लागि रोजगारी सृजना गर्ने कृषि र पूर्वाधारको क्षेत्र भएकोले कृषिका क्षेत्रमा विषेश कार्यक्रम सञ्चालन गर्ने नीति बनाईएको बताए ।
उनले कृषिको क्षेत्रलाई परम्परागत भन्दा आधुनिकिकरण गर्दै यन्त्रिकरण गर्दै लगिने कुरामा जोड दिदै कोबिड–१९ का कारण रोजगार गुमाएर घर फर्केकालाई लक्षित गरी उनीहरुको लागि सामुहिक खेती, करार खेती, वा तरकारी, विउविजनको लागि विषेश पकेट क्षेत्र बनाइ खेति गर्ने योजना नीतिमा रहेको बताए ।
कृषि पशुपालन, पर्यटन, घरेलु तथा साना उद्योग र सहकारी मार्फत आर्थिक सम्बृद्धिको ढोका खोल्ने खालको उद्यमशिलता, लगानी मैत्री बाताबरण तयार गरी स्वरोजगार बनाउन अभिप्रेरित गर्ने नीतिमा समेटिएको छ ।
उनले शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा भएका समस्या समाधानको लागि पहल गरिदै बर्षौदेखि थाती रहेको सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासलाई भुमि व्यवस्था आयोगसंग सहकार्यमा समाधानको पहल गरिने बताए ।
बैजनाथ गाउँपालिकाका उपप्रमुख शारदा रेग्मी विकको अध्यक्षतामा भएको सो सभामा भानुभक्त विसी, नारायण थारु, पुतली हमाल लगाएतले कृर्षि, सिंचाई र युवा स्वरोजगार बारे धारणा राखेका थिए ।
सो गाउ सभामा पालिकाका सबै सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो । गाउसभामा उठेका जिज्ञासाको जवाफ दिदै पालिका अध्यक्ष रुचालले ८ वटै वडामा सामुहिक खेतीको विकास गरिने र युवा स्वरोजगारका लागि समेत कार्यक्रम ल्याईने बताएका थिए ।





प्रतिक्रिया दिनुहोस्