समाचार सारांश
- राजापुरमा मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार संरक्षणसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
- तालिममा जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवालालाई जोखिम पहिचान, सूचना आदानप्रदान र समन्वयबारे प्रशिक्षण दिइएको थियो।
- सहभागीहरूले संरक्षणका जोखिम न्यूनीकरणका लागि समुदाय र सरोकारवाला निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

राजापुर, (बर्दिय) : बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सुरक्षा परियोजनाअन्तर्गत मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी अधिकारकर्मी तथा सीमावर्ती क्षेत्रमा कार्यरत सरोकारवालाका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम बर्दियाको राजापुरमा सम्पन्न भएको छ ।
सो तालिमको उद्देश्य सीमावर्ती क्षेत्रमा देखापर्ने मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा सीमापार आवतजावतका क्रममा उत्पन्न हुने जोखिमलगायतका संरक्षणसम्बन्धी समस्यालाई सम्बोधन गर्न स्थानीय सरोकारवालाको ज्ञान, सीप, समन्वय र सामूहिक क्षमता अभिवृद्धि गर्ने रहेको छ ।
तालिमको उदघाटन सत्रको अध्यक्षता राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले गरेकी थिईन । कार्यक्रममा नगरपालिकाका वडानं। १ देखि १० सम्मका वडाध्यक्ष तथा वडा सदस्य, वडा सचिव, इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, रोजगार तथा स्वास्थ्य शाखाका प्रतिनिधिलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
तालिमले स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा समुदायस्तरका प्रतिनिधिको विविध सहभागिताले समुदायको सुरक्षा तथा संरक्षणका सवालमा साझा बुझाइ, समन्वय र सामूहिक जिम्मेवारी सुदृढ गर्ने महत्वपूर्ण आधार तयार गरेको बताइएको छ ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा मानव बेचबिखन तथा यसको रोकथाम, लागुऔषध दुव्र्यसन र त्यसबाट उत्पन्न हुने जोखिम, सीमापार संरक्षणका सवाल, जोखिममा रहेका व्यक्तिको पहिचान, सूचना आदानप्रदान, आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा पठाउने तथा प्रतिक्रिया दिने संयन्त्र र विभिन्न सरोकारवालाको भूमिका तथा जिम्मेवारीका विषयमा छलफल गरिएको थियो ।
तालिमको सहजीकरण बिनय दिल लामाले गरेका थिए । स्थलगत व्यवस्थापन तथा समन्वयको जिम्मेवारी क्षेत्रीय पर्यवेक्षक परमिशा थारुले सम्हालेको कार्यक्रमको तालिमको समापन राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा प्रशासन शाखा प्रमुखको समेत उपस्थिति रहेको थियो ।
समापन सत्रमा तालिमबाट प्राप्त प्रमुख सिकाइ तथा अनुभवको समीक्षा गर्दै तालिमबाट हासिल भएका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिइएको थियो । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा सीमापारबाट उत्पन्न हुन सक्ने संरक्षणसम्बन्धी जोखिम न्यूनीकरणका लागि समुदाय तथा संस्थागत तहमा निरन्तर, समन्वयात्मक र प्रभावकारी रूपमा काम गर्नुपर्ने सहभागीहरूले बताएका थिए ।
तालिमले रोकथाम र संरक्षण सबैको साझा जिम्मेवारी भएको सन्देशलाई समेत थप बलियो बनाएको छ । स्थानीय तहमा उपलब्ध क्षमता, साझेदारी र समन्वय संयन्त्रलाई सुदृढ गर्दै सबै सरोकारवाला एकजुट भएर काम गर्न सके जोखिममा रहेका व्यक्तिलाई समयमै जानकारी, सुरक्षा तथा आवश्यक सहयोग उपलब्ध गराउन सकिनेमा जोड दिइएको छ ।



