समाचार सारांश
- नेपालगञ्जमा प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ जन्मजयन्तीका अवसरमा ७० जना पत्रकारको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ।
- कार्यक्रममा गुप्ताले पत्रकारिता, लोकतन्त्र र सामाजिक न्यायका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनका योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिइयो।
- पत्रकार महासंघ बाँकेले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै हरेक वर्ष जन्मजयन्तीका अवसरमा स्वास्थ्य परीक्षणलगायत कार्यक्रम गर्दै आएको जनाएको छ।

नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ जन्मजयन्तीको अवसरमा नेपालगञ्जमा पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा शनिबार पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिएको हो । शिविरमा ७० जना पत्रकारहरुले मृगौला परीक्षण गराएका छन् ।
नेपालगन्ज–१०, सुर्खेतरोडस्थित सेन्ट्रल सिटी हस्पिटल परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले स्वर्गीय पन्नालाल गुप्ताले पत्रकारितासँगै लोकतन्त्र, प्रजातन्त्र र सामाजिक न्यायका लागि पु¥याएको योगदानको स्मरण गरे ।
उनले स्वर्गीय गुप्ताको योगदानलाई चिरस्थायी बनाउन शालिक स्थापना तथा चोक र सडकको नामकरणका लागि सबै पक्ष एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानका अध्यक्ष, नेपालगञ्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले आफ्ना पिता पन्नालाल गुप्ताले जीवनभर पत्रकारितालाई नै मुख्य पेशा बनाएर समाज र लोकतन्त्रका लागि योगदान गरेको स्मरण गरे ।
कार्यक्रममा वरिष्ठ युरो सर्जन तथा स्वर्गीय गुप्ताका नाति डा. दिपेश गुप्ताले मिर्गौलाको स्वास्थ्य, मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने सावधानी तथा नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले दिनरात पत्रकारिता कर्ममा खटिने पत्रकारको स्वास्थ्य अवस्था संवेदनशील हुने भएकाले महासंघले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको बताए ।
‘गत वर्ष पनि हामीले स्वर्गीय पन्नालाल गुप्ताको जन्मजयन्तीको अवसरमा पत्रकारको निःशुल्क मुटु परीक्षण गरेका थियौँ । यस वर्ष मिर्गौला परीक्षण कार्यक्रम राखेका हौँ,’ उनले भने । अध्यक्ष गिरीले स्वर्गीय गुप्ताले नेपाली पत्रकारितामा स्थापित गरेको निष्ठा, सादगी र व्यावसायिक प्रतिबद्धता आजका पत्रकारका लागि समेत अनुकरणीय रहेको बताए । उनले गुप्तालाई ‘सन्त पत्रकार’का रूपमा स्मरण गर्दै उनको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले स्वर्गीय पन्नालाल गुप्ता नेपाली पत्रकारिता क्षेत्रका अथक योद्धा भएको बताए । उनले नेपाली पत्रकारितामा गुप्ताले पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम थारुले सञ्चालन गरेको कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
स्वर्गीय गुप्ता नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत हुन् । उनको जन्मजयन्तीको अवसरमा हरेक वर्ष पत्रकारको स्वास्थ्य परीक्षण लगायत विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ ।

