समाचार सारांश
- प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले राजापुर नगरपालिकामा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिको बैठकको सहजीकरण गर्दै मानव बेचबिखन रोकथामका गतिविधिको समीक्षा गरेको छ।
- बैठकमा सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने, महिला तथा बालबालिकाको संरक्षण र जनचेतनामूलक अभियान विस्तार गर्ने रणनीतिमाथि छलफल भएको थियो।
- सहभागीहरूले सुरक्षित, समावेशी र मानव बेचबिखनमुक्त समाज निर्माणका लागि स्थानीय सरकार, नागरिक समाज र विकास साझेदारबीच निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

बर्दिया, राजापुर : प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठकको समन्वय तथा सहजीकरणमा सहयोग गरेको छ ।
राजापुर नगरपालिकाकी उपप्रमुख तथा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिकी संयोजक मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
बैठकमा मानव बेचबिखन नियन्त्रणकालागि सञ्चालन भइरहेका गतिविधिको समीक्षा गर्दै सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने तथा महिला, बालबालिका र अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि साझा कार्ययोजनाबारे छलफल गरिएको थियो ।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले गरेकी थिईन । सहभागीहरूलाई स्वागत गर्दै स्थानीय तहमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, सरोकारवाला निकाय तथा विकास साझेदारबीच नियमित समन्वय र सहकार्यको आवश्यकता औंल्याईन ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले मानव बेचबिखन नियन्त्रण तथा महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय शासन प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।
उनले नगरपालिका, नागरिक समाज, सामुदायिक संस्था तथा अन्य सरोकारवालाबीचको निरन्तर सहकार्यबाट मात्र मानव बेचबिखन रोकथाम तथा सुरक्षित, सम्मानजनक र समावेशी समाज निर्माण सम्भव हुने बताए ।

बाँके युनेस्को क्लबका तर्फबाट परियोजना संयोजक ईश्वर बीकेले सुरक्षा परियोजना अन्तर्गत हालसम्म भएका प्रगति, प्रमुख उपलब्धि, सञ्चालनमा रहेका गतिविधि तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।
उनले समुदायस्तरीय सचेतनामूलक अभियान, क्षमता अभिवृद्धि कार्यक्रम, सरोकारवालाबीचको सहकार्य तथा स्थानीय सरकारसँगको साझेदारीमार्फत दिगो मानव बेचबिखन रोकथाम प्रणाली सुदृढ बनाउने प्रयासबारे जानकारी गराए ।
बैठकमा प्रतिवेदन अवधिमा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिले गरेका कार्यहरूको समीक्षा गर्नुका साथै सरोकारवालाबीच अर्थपूर्ण छलफल गर्दै समन्वयलाई थप सुदृढ बनाउने, जनचेतनामूलक अभियानलाई विस्तार गर्ने तथा स्थानीय प्रतिक्रिया प्रणालीलाई प्रभावकारी बनाउने रणनीतिहरू तय गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागी सबै सरोकारवालाहरूले महिला तथा बालबालिकाको अधिकार संरक्षण, मानव बेचबिखन रोकथाम तथा स्थानीय शासन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षित, समावेशी र उत्थानशील समुदाय निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल तथा स्थानीय सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै मानव बेचबिखनमुक्त, सुरक्षित र सम्मानजनक समाज निर्माणका लागि समुदायमा आधारित दिगो प्रयासहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता दोहोराएको छ ।



