समाचार सारांश
- बाँके युनेस्को क्लबको ३७औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
- कार्यक्रममा वक्ताहरूले क्लबले ३७ वर्षदेखि स्थानीय सरकारसँग सहकार्य गर्दै पारदर्शी र प्रभावकारी सामाजिक सेवा गर्दै आएको भन्दै प्रशंसा गरेका छन्।
- सो अवसरमा उत्कृष्ट कर्मचारी तथा व्यवस्थापन टोलीलाई सम्मान गरिएको साथै बन्द सत्रले आगामी वार्षिक योजना र विभिन्न निर्णयहरू पारित गरेको छ।

नेपालगञ्ज : बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस बिशेष समारोहका साथ भव्य रुपमा सम्पन्न भएको छ । क्लबका संस्थापक तथा अध्यक्ष प्रवेज अलि सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको साधारणसभाको उदघाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ समाजसेवी कृष्णजंग शाह थिए ।
शाहले कुनै पनि संस्था ३७ वर्षसम्म जिवन्त भएर समाजमा प्रतिष्ठाका साथ सञ्चालन हुनु भनेको अति नै गौरवपुर्ण बिषय भएको बताउदै उनले यो संस्था यहाँसम्म ल्याउन संस्थापक र हालका अध्यक्ष सिद्दिकीको मुख्य भुमिका रहेकोमा जोड दिए ।
कार्यक्रममा गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बस बहादुर राना, मधुवन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायणप्रसाद खनाल, सोही पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्द्रा चुनारा, सोही पालिकाका पशु विकास शाखा प्रमुख गणेश बहादुर बोहोरा, बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेल लगायतले बाँके युनेस्को क्लबले पालिकाहरुमा स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा पारदर्शी तरिकाले काम गरिरहेको बताए ।
सोही अवसरमा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी र बास नेपालका अध्यक्ष शिव कुमार वर्माले पनि ३७ वर्षसम्म निरन्तर समाज सेवा गरेर स्थापित भएको क्लबले अन्य संघसंस्थाका लागि एक उदाहरण प्रस्तुत गरेको बताए ।

कार्यक्रममा वर्षका उत्कृष्ट कर्मचारीका रुपमा राधेकृष्ण थारु, सन्जिता रिजाल र दृष्टि शाहलाई पुरस्कृत गरिएको थियो भने व्यवस्थापनतर्फ कार्यकारी निर्देशक रवि तुलाधर र लेखा तथा बित्त प्रमुख बेद प्रकाश पंगेनीलाई उत्कृष्ट घोषित गरि पुरस्कृत गरिएको थियो । टिम लिडरतर्फ गोविन्द लामिछानेलाई उत्कृष्ठ घोषित गरिएको थियो ।
क्लबका महासचिव बुधेश जयसवालले संस्थाको बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव फिरदौस जहाँले स्वागत मन्तव्य राखेकी थिईन । सो अवसरमा हालै सम्पन्न भएका परियोजनाका कर्मचारी, भेन्डर, सहयोगी तथा शुभेच्छुक र सल्लाहकारहरुलाई प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो ।
उदघाटन समारोहलगत्तै सम्पन्न भएको संस्थाको बन्द सत्रले बार्षिक कार्यक्रम र योजनासहितका बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सिद्दिकीले बताए । साथै बन्द सत्रमा एन ४ लाइफ, जीएसएस, जीई र सुरक्षा परियोजनाद्धारा प्रस्तुत गरिएको ग्यालेरी प्रस्तुती करणका लागि ग्यालेरी अवार्ड प्रदान गरिएको थियो ।



