समाचार सारांश
- बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित बालिका सशक्त परियोजनाको उपलब्धि, सिकाइ र दिगोपनाको समीक्षा गर्न निकास बैठक तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
- कार्यक्रममा परियोजनाले बालिका सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, बाल संरक्षण तथा सुरक्षित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकालिएको छ।
- सरोकारवालाहरूले परियोजनाबाट हासिल उपलब्धिलाई दिगो बनाउन स्थानीय सरकार, समुदाय र सम्बन्धित निकायले निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले बर्दियामा सञ्चालन गरेको बालिका सशक्त परियोजनाका उपलब्धि, सिकाइ तथा दिगोपनाका पक्षहरूको समीक्षा गर्ने उद्देश्यले निकास बैठक तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख गौतमले बालिका तथा किशोरीहरूको सशक्तीकरण, सुरक्षित वातावरण निर्माण र गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै स्थानीय सरकार यस्ता सकारात्मक पहललाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताईन ।
उनले परियोजनाले समुदाय, स्थानीय सरकार तथा विकास साझेदारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालिकाहरूलाई सिक्न, नेतृत्व गर्न र आत्मविश्वासका साथ अघि बढ्न सक्षम वातावरण निर्माण गरेको जनाईन ।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत विजय शर्माले गरेका थिए भने परियोजनाको समग्र परिचय, प्रमुख उपलब्धि तथा सिकाइहरू क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछानेले प्रस्तुत गरेका थिए ।
निकास बैठकले परियोजनामार्फत हासिल भएका उपलब्धिहरू, सिकाइहरू तथा प्रभावहरूको समीक्षा गर्नुका साथै सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया संकलन गरी परियोजना समाप्तिपछि पनि उपलब्धिहरूलाई दिगो बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गरेको क्लबले जनाएको छ ।

त्यसैगरी, सामाजिक परीक्षणमार्फत परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधि, उपलब्धि तथा स्रोत–साधनको उपयोगबारे सार्वजनिक रूपमा जानकारी गराइएको थियो । यसले परियोजनाको पारदर्शिता, जवाफदेहिता तथा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले परियोजनाले बालिका सशक्तिकरण, लैङ्गिक समानता, शिक्षा, बाल संरक्षण तथा सामुदायिक विकासमा सकारात्मक योगदान पु¥याएको उल्लेख गर्दै यस्ता प्रयासलाई स्थानीय तह र समुदायले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्री गौतम, वडा नं. १, २, ४, ५, ११ र १२ का वडा अध्यक्षहरू, वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखाका फोकल व्यक्ति चन्द्रबहादुर खत्री, महिला विकास शाखाकी गीता बकवाल, स्वास्थ्य शाखाका शिवकुमार चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार, धार्मिक अगुवा, किशोरी समूह, युवा क्लब तथा नगरपालिका स्तरीय युवा सञ्जालका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


