समाचार सारांश
- प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले बर्दियामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ ।
- कार्यक्रममार्फत “एक घर, एक रिडिङ कर्नर” अभियान सञ्चालन गरी घरमै बालमैत्री अध्ययन वातावरण निर्माण गर्न अभिभावकलाई प्रेरित गरिएको छ ।
- किशोरी क्लब, विद्यालय र स्थानीय तहको सहकार्यमा अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ भने विभिन्न वडालाई “रिडिङ कर्नर मैत्री गाउँ” घोषणा गर्ने लक्ष्य राखिएको छ ।

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकामा सञ्चालन भइरहेको गर्लस स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत अभिभावकहरूलाई बाल संरक्षण, समग्र विकास तथा घरमा सिकाइमैत्री वातावरण निर्माण गर्न प्रेरित गरिएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा पढ्ने बानीको विकास गर्नु, शैक्षिक उपलब्धि सुधार गर्नु, घर, विद्यालय तथा समुदायमा सकारात्मक सिकाइ वातावरण निर्माण गर्नु, अभिभावकलाई नियमित रूपमा बालबालिकाको अध्ययन अनुगमन गर्न प्रोत्साहित गर्नु तथा शिक्षकसँग समन्वय गरी बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी राख्न सहयोग पु¥याउनु रहेको छ ।
त्यसैगरी बालबालिकामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन तथा अतिरिक्त क्रियाकलापमा बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्न अभिभावकहरूलाई सचेत बनाइएको छ ।
कार्यक्रमको सकारात्मक प्रभावस्वरूप धेरै परिवारले आफ्नै घरमा “रिडिङ कर्नर” स्थापना गरी बालमैत्री अध्ययन वातावरण निर्माण गर्न थालेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।
अभियानलाई प्रत्येक घरसम्म विस्तार गर्न किशोरी क्लब, युवा क्लब, वडा कार्यालय, विद्यालय, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहले सक्रिय सहकार्य गरिरहेका छन् । किशोरीहरू घरदैलो अभियानमार्फत “अभिभावकका लागि सात सन्देश” प्रवाह गर्दै “एक घर, एक रिडिङ कर्नर” अभियानलाई समुदायस्तरमा विस्तार गरिरहेका छन् ।

सोही क्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ७ को कार्यालय र बाँके युनेस्को क्लबको समन्वयमा “एक घर, एक रिडिङ कर्नर निर्माण” घरदैलो अभियान निरन्तर सञ्चालन भइरहेको छ । घरलाई बालबालिकाको पहिलो विद्यालयको रूपमा स्वीकार गर्दै प्रत्येक घरमा पढाइमैत्री वातावरण निर्माण गर्ने, गाउँलाई “रिडिङ कर्नर मैत्री समुदाय” घोषणा गर्ने तथा अभिभावकलाई बालबालिकाको शिक्षा, साक्षरता र समग्र विकासमा सक्रिय बनाउन अभियान केन्द्रित रहेको छ ।
अभियान सफल बनाउन किशोरी क्लबका २५ जना किशोरीहरूले निरन्तर सक्रिय सहभागिता, समर्पण तथा सहयोग गर्दै आएको क्लबले जनाएको छ ।
क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेका अनुसार परियोजना अन्तर्गत मधुवन नगरपालिका वडा नम्बर १ र २, गुलरिया नगरपालिका वडा नम्बर ११ र १२ तथा बढैयाताल गाउँपालिका वडा नम्बर ७, ८ र ९ लाई “एक घर, एक रिडिङ कर्नर मैत्री गाउँ” घोषणा गर्ने लक्ष्य राखिएको छ ।
उहाँका अनुसार बालबालिकाको शैक्षिक विकास, सिकाइ उपलब्धि तथा अभिभावकको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्न अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ ।
“हरेक घरबाट सिकाइ संस्कृतिको विकास गरौं, हरेक बालबालिकाको उज्ज्वल भविष्य निर्माण गरौं” भन्ने सन्देशका साथ अभियान सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।


