नेपालगञ्ज : बाँकेमा भारतसंग सिमा जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । सिमा क्षेत्रको निगरानी तथा सीमा क्षेत्रबाट हुनसक्ने चोरी पैठारी, तथा अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले पैदल गस्ती सुरु गरिएको हो ।
बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्धावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अभिकुमार खत्रीले सीमा क्षेत्रको पैदल गस्ती टिमका कमाण्डरलाई मोबाईल फोन हस्तन्त्रण गरी पैदल गस्तीको शुभारम्भ गरेका हुन ।
सो अवसरमा उनले सीमा क्षेत्रमा हुने पैदल गस्तीले दुबै देशका नागरिकले सुरक्षाको प्रत्याभुँती अनुभव गर्ने र सीमा क्षेत्रबाट हुनसक्ने अवञ्छित गतिविधि रोकिनेमा आफु विश्वस्थ रहेको बताए ।
नेपाल भारतको सीमा क्षेत्रको जमुनाहको सीमा जंगेपिल्लर नं. ६५१/११ (३१) बाट पैदल सिमा गस्ती सुरु गरिएको हो ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दुबै मुलुकका नागरिकले सुरक्षाको अनुभुती गर्ने गरी काम गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी वल, नेपाल जवान तालिम शिक्षालय नौवस्ता बाँकेका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रविन कँडेल, भारतीय सशस्त्र सिमा सुरक्षा बल ४२ औ बटालियनका गंगासिंह उरावतलगायत नेपाली तथा भारतीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
बाँकेमा भारतसंग जोडिएको सिमा क्षेत्रमा जंगेपिल्लर ३२ वटा सहायक पिल्लर २ सय ७९ वटा गरी ३ सय ११ वटा रहेका छन् । यी मध्ये ५ पिल्लर नदी/ खोलाले बगाएर हराएको, १ मर्मत गर्नुपर्ने र यसैगरी सहायक पिल्लर ७ मर्मत गर्नुपर्ने, ६ पुन निर्माण गर्नुपर्ने, ७ नदी खोलाले बगाएको र ४ वटा हराएको अवस्थामा रहेका छन् ।