नेपालगञ्ज नर्सिङ क्याम्पसको भवन उदघाटन

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १५:०५
 

नेपालगञ्ज : भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाईमा समस्या देखिएपछि नेपालगञ्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ ।

नर्सिङ क्याम्पसको नयाँ भवनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तहका विषय चार वर्षे बीएस्सी नर्सिङ र तीन वर्षे बीएनएसका छात्राहरुले अध्ययन गर्नेछन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. दिव्यासिंह शाहले नेपालगञ्ज नर्सिङ क्याम्पस संस्थानको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक मात्र आंगिक क्याम्पस भएको बताए ।

नयाँ भवन उदघाटको अवसरमा उनले क्याम्पसमा अझै पनि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । डीन शाहले भने, “त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका आंगिक क्याम्पसका भवनहरु पूराना र जीर्ण अवस्थाका छन् । हामी सबै क्याम्पसमा भौतिक पूर्वाधार निर्माण गर्न पहल गरिरहेका छौ ।“


नेपालगञ्ज नर्सिङ क्याम्पसका प्रमुख तुलसा सुनारले क्याम्पसमा बीएस्सी नर्सिङ र बीएनएसमा ३०–३० जना विद्यार्थीको कोटा रहेको जनाउँदै चार वर्षमा बीएस्सी नर्सिङमा एक सय २० जना र तीन वर्षमा बीएनएसमा ९० जना विद्यार्थी अध्ययन गरिरहेको बताए । उनले क्याम्पसमा अधिकांश पुराना भवन रहेको जनाउँदै यो नयाँ भवनले धेरै सहयोग पुग्ने बताए ।

यसअघि क्याम्पसको ६ कोठे नवनिर्मित सो भवनको उदघाटन त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहालले गरेका थिए । सो अवसरमा उनले नयाँ भवनबाट छात्राहरुलाई शिक्षण सिकाइ कार्य सहज र प्रभावकारी हुने बताए । उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका शिक्षालयमा धेरै भौतिक पूर्वाधार पुराना हुँदा नयाँ निर्माण गर्न बाँकी रहेको जनाउँदै हरेक वर्ष भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिरहेको बताए ।

उक्त ६ कोठे दुई तले भवन रजना निर्माण सेवा जुम्लाले ९९ लाख ८२ हजार ७ सय ५० रुपैयाँको लागतमा निर्माण गरेको क्याम्पस व्यवस्थापनले जनाएको छ । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कार आरोपमा कोहलपुरका मानबहादुर पक्राउ

११ मंसिर २०८०, सोमबार १५:०५
नेपालगञ्ज : २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका–११ का एकजनालाई भालुवाङ प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी अभियोगमा कोहलपुर ११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु […]