सदरलाइनडटकम
३१ असार, काठमाडौं, : मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । शुक्रबार नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा आयोजित विशेष भेलाले विभिन्न मागहरु राखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमहरुमा विभिन्न दलका अध्यक्षहरुलाई शुक्रबार नै ज्ञापनपत्र बुझाउने, विभिन्न पार्टीका सदस्यहरुसँग साउन १ गते अन्र्तक्रिया गर्ने, २ गते त्रिवि शिक्षण अस्पताल परिसरमा धर्ना तथा जुलुस लगातार तीन दिनसम्म गर्ने, नीजी मेडिकल कलेज संगठनको आयोजनामा यही ४ गते हुने विरोध कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने, आगामी सात दिनभित्र आफ्ना मागहरु पुरा नगरे असार ७ गतेबाट डा. विजय पौडेलको नेतृत्वमा आमरण अनशन बस्ने लगायतका छन् । कार्यक्रममा पूर्वअर्थमन्त्री तथा संस्थाका संरक्षक भरतमोहन अधिकारीले यो आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको भन्दै आगामी दिनमा समेत सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘सरकारले मनमोहनलाई मनशाय पत्र दिएर लगानी दिन लगाउने अनि अहिले आएर अन्तिम स्विकृति नदिने भन्ने कुरा हुन्छ, २ हजार ४ सय ३४ जना सेयरधनीहरुको लगानी खेर जान्छ, त्यसैले तत्काल सरकारले स्विकृति दिनुपर्छ ।’ अधिकारीले यो आन्दोलनलाई सबै नेपाली जनताको साझा मुद्दा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेले शैक्षिक क्षेत्र र अर्थतन्त्रको सुदृढिकरण तथा संविधानको मुल भानवनाको रक्षाका लागि आफूहरुले सैद्धान्तिक मागहरु अघि बढाएको दाबी गरे ।
उनले नेकोले अघि सारेका ५ बुँदे मागहरु सार्वजनिक गरेका थिए । ती मागहरुमा संविधानको मर्म अनुसार तीन खम्बे अर्थ नीतिलाई लागु गर्नुपर्ने, सहकारी र नीजी क्षेत्रलाई शैक्षिक क्षेत्रमा प्रतिबन्ध लगाउने शिक्षा ऐनको आठौ संशोधन खारेज गर्नुपर्ने, देशलाई चिकित्सा विज्ञान, ईन्जिनिरियङ् तथा पशु विज्ञान लगायतका प्राविधिक शिक्षामा आत्मनिर्भर बनाउन सरकारी, सहकारी र नीजी क्षेत्र तीनवटै क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने लगायतका छन् ।
कार्यक्रममा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाँई, संस्थाका उपाध्यक्ष एवम् सांसद डा. वंशिधर मिश्र, उपाध्यक्ष जीवन शर्मा र बरिष्ठ चिकित्सक रामकुमार अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।