‘जनतासँग माओवादी रुपान्तरण अभियान’ गरिने

सदरलाइन संवाददाता ११ भाद्र २०८०, सोमबार १६:५०
 

नेपालगञ्ज : ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ सफल बनाउन नेकपा माओवादी केन्द्र बाँकेले विशेष अभियान सञ्चालन गर्ने भएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ देशैभर एकसाथ सञ्चालन गर्ने भनिएको ३ महिने अभियानलाई सफल बनाउन माओवादी केन्द्र बाँकेका नेताहरु सक्रिय भएका छन् ।

यही भदौ १६ गतेबाट माओवादी केन्द्रले देशैभर एकसाथ ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्दै छ । अभियानको तयारी स्वरुप माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पालिकास्तरिय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरिसकेको जनाएको छ । सोमबार नेपालगञ्जमा जिल्लामा सक्रिय पार्टीका विभिन्न जनवर्गीय संगठनहरुसँग छलफल तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

छलफल तथा प्रशिक्षण कार्यक्रमलाई लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके जिल्ला अभियान इन्चार्ज कुल प्रसाद केसी (सोनाम) र बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स)ले सम्बोधन गरेका थिए ।

इन्चार्ज सोनामले माओवादीभित्र तलदेखी माथिसम्मै अराजकता, सुशासन नमान्ने, नियम कानून नमान्ने, नीति र बिधीभित्र नबस्ने, पार्टीको हित भन्दा निहित स्वार्थमा लाग्ने लगायतका प्रवृतिका कारण पार्टी यो स्थितीमा पुगेको बताए । उनले अब पार्टी बनाउन सबै स्वार्थ छाडेर जनताको काममा ध्यान दिनुपर्ने भन्दै माओवादी नेता तथा कार्यकर्ता सुध्रिनु पर्ने र सुध्रिनका लागि यो राम्रो अवसर भएको बताए ।


नेता सोनामले माओवादीकै नेतृत्वमा सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगायतका कैयौं धेरै कामहरु भएको तर जनताले माओवादीलाई किन अस्वीकार गरे ? किन रुचाएनन् ? भन्ने विषयमा गम्भीर समिक्षा गर्नु पर्ने बताए । उनले यो अभियानमा यो प्रश्न जनतासँग सोधेर उत्तर लिएर आउनका लागि जनवर्गीय संगठनका नेतृत्वलाई निर्देशन समेत दिए ।

संयोजक जेम्सले पार्टीसँगसँगै पार्टीका सम्पुर्ण विभाग, निकाय तथा जनवर्गीय संगठन समेत बिग्रेर फेल भैसकेको भन्दै अभियानसङ्गै पार्टी र पार्टीका सम्पुर्ण निकाय तथा जनवर्गीय संगठनहरु एकएक गरेर नयाँ ढंगबाट रुपान्तरण भएर उठ्नुपर्ने बताए । उनले ८१ वटै वडाबाट सम्पुर्ण जनवर्गीय संगठनहरु एकैसाथ जुरमुराएर जाग्नु पर्ने भन्दै सहभागी जनवर्गीय संगठनका नेताहरुलाई कम्मर कसेर लाग्न निर्देशन दिए ।

कार्यक्रममा महिला, विद्यार्थी, पत्रकार, युवा, किसान, सुकुम्वासी, थारु, मधेसी, मुस्लिम, जनजाति लगायतका जिल्लामा सक्रिय रहेका विभिन्न जनवर्गीय संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई ट्राईसाईकल वितरण

११ भाद्र २०८०, सोमबार १६:५०
नेपालगञ्ज    बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगञ्जमा ट्राईसाईकल वितरण गरेको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता […]