निर्माण भएपनि सञ्चालनमा आएन क्षेत्रीय कारागार

सदरलाइन संवाददाता २६ असार २०८०, मंगलवार १३:२०
 

नेपालगञ्ज : एक वर्षअघि निर्माण पूरा भएको क्षेत्रीय कारगार अझै सञ्चालनमा आएको छैन । बाँकेको नेपालगञ्जस्थित जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच हुँदा समेत यो कारागार सञ्चालनमा आउन सकेको छैन ।

करिब छ दशकअघि निर्माण भएको जीर्ण बाँके कारगारमा तीन सय जना कैदी बन्दीको क्षमता भएपनि हाल त्यहाँ तेब्बर बढी ९२० जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ ।

तीन हजार कैदीबन्दी राख्न मिल्ने क्षमताको क्षेत्रीय कारागार बाँकेको नौबस्तामा एक वर्षअघि निर्माण पूरा गरिएको छ । बाँके कारागारका जेलर अर्जुनजङ्ग शाहले जीर्ण कारागारमा तेब्बर बढी कैदीबन्दीलाई राख्नुपरेकाले निकै समस्या भइरहेको जनाउँदै एक वर्षअघि नै निर्माण पूरा गरिएको क्षेत्रीय कारगार सञ्चालनको प्रयास भइरहेको बताए ।

उनले बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण गरिएको तीन हजार कैदीबन्दी राख्ने क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा आएपछि बाँके कारागारको समस्या समाधान हुने बताए ।


जेलर शाहले भने, “हामीले गत वर्षबाटै बारम्बार क्षेत्रीय कारागार सञ्चालनको प्रयास स्वरूप विभागलाई जानकारी गराउँदै आएका छौँ । नयाँ आर्थिक वर्षबाट सञ्चालन हुने आशा राखेका छौँ ।”

नेपालगञ्जस्थित विभिन्न मानव अधिकारवादी अगुवाहरूले केही दिनपहिले मात्रै कैदीबन्दीको आधारभूत मानव अधिकार संरक्षणका लागि तत्काल क्षेत्रीय कारागार सञ्चालन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका थिए ।

ज्ञापनपत्रमा निर्माण भएको एक वर्ष पुगिसक्दासम्म पनि क्षेत्रीय कारागार सञ्चालनमा नआएकाले बाँके कारागारमा कोचाकोच गरेर राखिएका कैदीबन्दीको मानव अधिकार उल्लङ्घन भइरहेको हुँदा तत्काल सञ्चालनमा ल्याउन माग गरिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नयाँ आर्थिक वर्षबाट क्षेत्रीय कारागार सञ्चालनमा आउने र समस्या समाधान हुने बताए ।

नयाँ निर्माण भएको कारागारमा कैदीबन्दीका लागि चारवटा वर्कसप, चार किचेन तथा डाइनिङ, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एक भवन, १० वटा सेन्ट्री पोस्ट, चार भिजिटर ब्लक र एउटा भेटघाट भवन निर्माण गरिएको छ । सुरक्षाका लागि अग्लो पर्खाल र खानेपानी ट्याङ्की पनि निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगरसहित बाँकेमा तीन जना पक्राउ

२६ असार २०८०, मंगलवार १३:२०
नेपालगञ्ज : बाँके प्रहरीले सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जको बिपीचोकबाट दुई जनालाई ५ ग्राम ५ सय मिलिग्राम र जमुनाहाबाट एक जनालाई एक ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ । बिपीचोकबाट नेपालगञ्ज–१६ जयसपुरका २० वर्षीय शाहिल आलम […]

सम्बन्धित