नेपालगञ्ज : नेपालगञ्जको रैथाने परिकारको बजार पवद्र्धन गर्ने उद्देश्यका साथ नेपालगञ्ज बजार खास गरी त्रीभुवन चोक क्षेत्र अब राती ११ बजेसम्म खुलाउने गरी तयारी अघि बढाईएको छ ।
असार १५ गतेदेखि संचालन हुने ’स्ट्रीट फुडलेन’ लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो । नेपालगञ्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके लगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र सरोकारवालाबीच जिल्ला प्रशासनमा भएको छलफलमा शान्ति सुरक्षा र बजार व्यवस्थापनलाई ध्यान दिँदै असार १५ गतेदेखि ‘स्ट्रीट फुड लेन’ र ‘रात्रीकालीन बजार’ राती ११ बजेसम्म खुला राख्ने सहमति भएको नाट्ट बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्यले हाललाई असार १५ गतेदेखि ११ बजेसम्म बजार खुल्न दिने र त्यसपछिको अवस्था हेरेर आवश्यक निर्णय लिने बताए । उनले रात्रीकालीन बजार सञ्चालनको लागि ट्रफिक व्यवस्थापन र सुरक्षा प्रबन्धको लागि तयारी गरिने बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरको शान्तिसुरक्षा र अमनचयनमा असर नपर्ने गरी स्थानीय ’रैथाने’ परिकारहरुको प्रबर्द्धन गर्ने उद्देश्यले संचालन हुन लागेको ’स्ट्रीट फुडलेन’ लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्न दिने सहमति बनेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा नाट्टा बाँकेले असार १५ गतेदेखि त्रिभुवन चोक क्षेत्रमा ’स्ट्रीट फुडलेन’ संचालन गर्न लागेको छ । यस फुडलेनले नेपालगञ्जलाई नयाँ रौनक दिदै स्थानीय स्वादलाई एकिकृत ढंगले ‘ब्राण्डिङ र प्रमोशन’ गरिने अपेक्षा गरिएको छ ।