धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका बेहडाबाबास्थित महादेवा तालमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपाल बोट एण्ड अम्युज्मेन्ट प्रालिले हाललाई उक्त तालमा एकवटा बोट सञ्चालनमा ल्याएको हो ।
पर्यटन विकासका लागि सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले तालमा मोटरबोटको उदघाटन गरे । उनले मोटरबोट सञ्चालन गर्दै प्रदेश सरकार पर्यटन विकासका लागि प्रतिबद्ध रहेको बताए ।
मन्त्री देउवाले पर्यटनको विकासबाट आर्थिक विकास सम्भव भएकाले आन्तरिक र तथा विदेशी पर्यटक भित्र्याउन पर्यटकिय क्षेत्रको विकास तथा संरक्षण आवश्यक रहेको बताए ।
मोटरबोट सञ्चालनमा आएपछि पर्यटकको संख्या बढ्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । बेहडाबाबा मन्दिर व्यवस्थापन समितिसँग नेपाल बोट एण्ड अम्युज्मेन्टले बोट सञ्चालनका लागि तीन वर्षे सम्झौता गरेको अध्यक्ष जोशीले बताए ।
तालको मध्य भागमा रहेको महादेवा अर्थात् गङ्गा मन्दिरमा पूजा गर्न जान प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्नेछ भने मोटर बोटमा पूरै तालमा सयर गर्न प्रतिव्यक्ति तीन सय शुल्क लाग्नेछ ।
यस्तै, सानो बोट एक घण्टा चलाउँदा पाँच जनाको समूहले पाँच सय शुल्क तिर्नुपर्ने छ ।
१९ हेक्टर क्षेत्रफलमा फैलिएको महादेवा तालको वरिपरि पदमार्ग निर्माणको काम भइरहेको छ । तालको वरिपरि ७ किलोमिटर पदमार्ग तयार गर्ने योजना मन्दिर व्यवस्थापन समितिको छ । यो वर्ष एक किलोमिटरमा पदमार्ग तयार गर्ने काम भइरहेको छ ।