दाङ : राजपुर गाउँपालिकाले अग्निपीडितलाई तत्काल राहत उपलब्ध गराएको छ । पीडितको पुनर्स्थापना गर्नभने बाँकी छ ।
राजपुर गाउँपालिका – ४ सत्यदेउ यादबको घरमा गत २९ गते राती एक्कासी आगलागी हुँदा घर नष्ट भएको थियो ।
आगलागीबाट करिब ८ लाख बराबरको नोक्सान भएको प्रहरीको भनाइ छ । घरमा रहेका लत्ताकपडा भाँडाकुडा, खाद्यान्न जलेर नष्ट भएको पीडित यादबले बताए ।
तिनै अग्निपीडितलाई गाउँपालिकाले खाद्यान्न सहयोग गरेको छ । २ बोरा चामल, चिउरा, ४ किलो दाल, २ लिटर तेल सहयोग गरेको हो ।
आगलागीबाट बस्ने बास नै उजाडिएपछि तत्काललाई सान्त्वना स्वरुप राहात सहयोग गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले बताए ।
पीडित परिवारलाई मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स परियोजनाले पनि त्रिपाल सहयोग गरेको छ । २ वटा त्रिपाल, २ वटा म्याट, बाल्टी, किड सहयोग गरिएको मानव कल्याण राजपुरका प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए ।
अध्यक्ष शरद बुढाथोकी, उपध्यक्ष धनपती देवी यादब, वडाध्यक्ष रामेस्वर यादब, मानव कल्याणका प्रमुख राजेन्द्र अधिकारी बिहीबार बिहान पिडितको घरमा राहात लिएर गएका हुन् ।