जाडोको शुरुवातसँगै मौसमी फ्लुका बिरामी बढे

सदरलाइन संवाददाता १५ मंसिर २०७९, बिहीबार १४:३१
 

नेपालगञ्ज : केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेको भेरी अस्पतालका फिजिशियन डा.संकेत रिसालले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा उपचारमा पुग्ने केहीमा निमोनियासमेत देखिएको छ ।

रुघाखोकीलाई सामान्य रुपमा लिँदा कतिपयलाई जटिल समस्या देखिन थालेको छ । दुई–चार दिनपछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका लागि अस्पताल जान डाक्टर रिसालको सुझाव छ । उनका अनुसार चार पाँच दिनसम्म पनि रुघाखोकी र ज्वरो निको नभए स्वास्थ्यमा जटिल समस्या देखिने भएकाले तुरुन्त स्वास्थ्य जाँच गराउनु पर्छ । रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही गर्न नहुने उनले बताए ।

वायु प्रदूषण र चिसोका कारण जाडोयाममा निमोनियाको जोखिम धेरै हुन्छ । डाक्टरका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक हप्तामा आफैँ हराएर जान्छ भने केहीमा भने जटिल समस्या देखिन्छ । मौसमी रुघाखोकीका लक्षण भएकाहरू सकेसम्म अरूको सम्पर्कबाट दूरी बनाएर बस्ने, खोक्दा हाच्छ्युँ गर्दा मुख छोप्ने र मास्क लगाउने गरे सङ्क्रमण फैलन पाउँदैन ।


मौसमी फ्लु र रुघाखोकीको सङ्क्रमणबाट जोगिन मास्क लगाउनुका साथै सरसफाइ र चिसोबाट बच्नु पर्ने डाक्टरको भनाइ छ । ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएकाहरूले तागतिला मनतातो झोलिलो पदार्थ खाएर र न्यानो भएर घरमै आफ्नो हेरचाह गर्न सक्छन् ।

तर, यसरी बसेको ७२ घण्टासम्म पनि कम नभए भने अस्पताल जानु पर्ने डाक्टरको सुझाव छ । चिसो र मौसमी फ्लुबाट जोगिन तानो न्यानो कपडा लगाउन, मन तातो पानी र झोलिलो पदार्थ खान, हरियो सागसब्जी र फलफूल खान डाक्टर बमको सल्लाह छ । तर फ्रिजमा राखिएका खानेकुरा नतताइ खानु हुँदैन । यस्तै, जाँड रक्सी र सुर्ती चुरोट पनि नखान डाक्टरको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा समानुपातिकतर्फ पनि एमाले पहिलो दल

१५ मंसिर २०७९, बिहीबार १४:३१
नेपालगञ्ज : प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ दलले भाग लिएकामा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ । ४ मंसिरको चुनावमा लुम्बिनी प्रदेशमा खसेको १८ लाख ८७ हजार ७८ सदर मतमा नेकपा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ […]