कोहलपुर मेयरको एक्शन : मेडिकल कलेजलाई काटे पत्र

सदरलाइन संवाददाता २५ जेष्ठ २०७९, बुधबार १८:०४
 

कोहलपुर : कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले ढल व्यवस्थापनमा लापर्वाही गरिरहेको नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काटेका छन् । बर्षौंदेखि ढल व्यवस्थापनमा वातावरण प्रतिकूल काम गरिरहेको भन्दै मेयर आचार्यले नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काटेका हुन् ।

अस्पतालबाट दैनिकरुपमा निष्काशन हुने फोहर पदार्थ र केमिकलजन्य फोहरमैला कोहलपुरस्थित डुडुवा खोलामा ढल विसर्जन भइरहेकोप्रति नगरपालिकाले चासो व्यक्त गरेको हो । अस्पतालको घातक फोहर सिधै ढलमा मिसाउँदा वातावरण प्रदुषणसंगै जैविक विविधता नष्ट भइरहेकोप्रति चासो राख्दै मेयर आचार्यले पत्र काटेको बताए ।


“मैले पहिलो पत्र काटेको छु, ढल व्यवस्थापनमा भइरहेको लापर्वाहीलाई नजरअन्दाज गर्न सकिँदैन,“ उनले भने–“बर्षौंदेखि अटेर गरेर दुषित केमिकलयुक्त फोहरमैला खुलेआम नालामा मिसाउनु गम्भीर गल्ती हो, यसमा नगरपालिकाले विशेष चासो दिएको छ ।“ उनले अस्पतालको फोहरमैला व्यवस्थापन एवम् ढल निकास मापदण्ड बमोजिम गर्न सचेत गराएका छन् ।

स्थानीय जनताको पटक पटकको आग्रहलाई अस्पताल स्वयम् तथा यसअघिका मेयर र नगर विकास समितिले बेवास्ता गरेकोमा मेयरमा निर्वाचित भएर आएपछि आचार्यले यो विषयलाई विशेष प्राथमिकता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा शुक्रवारदेखि पाँच दिन गर्मी विदा

२५ जेष्ठ २०७९, बुधबार १८:०४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रवारदेखि विद्यालयहरुमा गर्मी विदा दिएको छ । अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालयहरुमा विदा दिइएको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म विद्यालयहरुमा विदा दिइएको बताए ।