नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालनमा रहेको भिजन आँखा अस्पतालले नेपालमै पहिलो पटक आँखाको लागि अत्याधुनिक ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा ल्याएको छ ।
अस्पतालका सञ्चालक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.प्रचण्ड गौतमले अस्पतालका कारण बिरामीमा कुनै किसिमको इन्फेक्सन हुन नदिन अत्याधुनिक ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा ल्याउने तयारी पुरा गरेको जानकारी दिए ।
उनले सो बारेमा जानकारी दिदै भने–‘ सम्भवत नेपालका आँखा अस्पतालमा मोडुलर अप्रेशन थियटर छैन । यस प्रकारको सुविधाले बिरामीसँगै उपचारमा संलग्न चिकित्सकलाई पनि ढुक्क बनाउँछ ।’ अपस्ताल स्थपनाको छोटो समयमा करिब ५० लाखको लागतमा भिजनले सेमि मोडुलर र मेन मोडुलर अप्रेशन थियटर तयार गरेर सञ्चालनको अवस्थामा ल्याएको हो ।
‘मोडुलर अप्रेशन थियटर’ निर्मलिकरणको सवालमा पनि यो अत्यन्तै प्रभावकारी मानिने डा.गौतमको भनाई छ । अन्य अस्पतालहरुमा यसखाले अपरेशन थियटर भएको भए पनि आँखा अस्पतालमा भने अहिलेसम्म सञ्चालनमा नभएको उनको दाबी छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जले अत्याधुनिक मोडुलर अप्रेशन थियटरबाट केहिदिनमै बिरामीको शल्यकृया सुरु गर्ने तयारी गरेको उनले बताए ।
अस्पतालमा हाल सरदर ४–५ जनाको दैनिक शल्यकृया हुने गरेको छ । भारतबाट समेत उपचारका लागि बिरामी आउने यो अस्पतालमा खासगरी जलबिन्दु, मोतियाबिन्दु र दृष्टि पर्दाका बिरामीहरु शल्यकृयाका लागि आउने गरेका छन् ।