नेपालगञ्ज : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको पाइन्छ ।
रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
अहिले कोरोना महामारी कम हुँदै गएकाले मन्दिर खुला गरिए पनि सामाजिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर पूजा आराधना गर्न सबैलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आह्वान गरेका छन् ।