नेपालगञ्ज : संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ । नेपालगञ्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो । कोरोना संक्रमितले अस्पतालका शय्या क्रमशः भरिदै गएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा बढ्दो क्रममा छ ।
स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा आउने संक्रमितहरू अधिकांश गम्भीर खालका छन् । अस्पतालको कोभिड वार्डमा एक महिनाअघि सम्म ५/६ जना मात्र संक्रमित भर्ना भएकोमा अहिले त्यो संख्या ह्वात्तै बढेको हो ।
अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार बुधबार बिहानसम्म ५५ जना संक्रमितले उपचार गराइरहेका छन् । उपचारका लागि संक्रमितलाई हल ‘ए’ र हल ‘बी’ मा राखिएको छ । भेन्टिलेटर सुविधासहितको हल ‘ए’ मा १० जना संक्रमित छन्। तीमध्ये ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै हल ‘ब’ मा ३५ जना संक्रमित भर्ना छन् । यसबाहेक एन्टिजेन पोजेटिभ भएर आएका संक्रमितको पनि अस्पतालले उपचार गरिरहेको छ । भारतबाट फर्केका अधिकांस व्यक्तिमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ ।
सामान्य स्वास्थ्य अवस्था भएका उनीहरू पनि भेरी अस्पतालमा पुग्ने गरेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांक अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ । त्यसमध्ये १ सय ५८ जना होमआइसोलेसनमा बसिरहेका छन् ।
यस्तै बाहिरी जिल्लाका ३९ जनाले बाँकेमा उपचार गराइरहेका छन् । अस्पतालकी नर्सिङ अधिकृत अर्याल कोरोना संक्रमण बढेपछि अस्पतालमा बिरामीको चाप पनि अहिले बढ्दै गएको बताउँँछिन् । ‘संक्रमण बढेपछि कोभिड वार्डमा अहिले चाप बढेको छ, दिनहुँ मृतकहरु बढेका छन्, स्थिति गाह्रो बन्दै गएको छ,’ उनले भनिन् । स्वास्थ्यकर्मीका अनुसार भेन्टिलेटरमा रहेका ५ जनाको अवस्था चिन्ताजनक छ, भने अन्य ११ जना गम्भिर प्रकृतीका बिरामी रहेका छन् ।
कोरोना संक्रमण नियन्त्रण र ब्यवस्थापनमा खटिदै आएका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले अस्पतालमा संक्रमितको चाप पुनः बढेको बताएका छन् । ‘कोभिडको संक्रमण फेरि बढेको छ, अस्पतालमा बढेको संक्रमितको चापले सहजै पुिष्ट गर्छ,’ उनले भने ।
कोरोना संक्रमणको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएपछि स्वास्थ्य क्षेत्रका सम्वद्धहरू चिन्तित भएका छन् । संक्रमण पूर्ण रूपले नियन्त्रणमा नआउँदै पुनः बढेपछि नेपालगन्जबासी पनि त्रसित छन् ।
अस्पतालका फिजिसियन डा. संकेत रिसालले अस्पतालमा संक्रमित भर्ना दर थपिदै गएको र संक्रमित भर्ना संख्या अझ बढ्ने बताए । ‘दिनहुँजसो संक्रमितको मृत्यु भइराखेको छ, कोभिडको संक्रमण एकदमै डरलाग्दो रूपले फैलिरहेको छ,’ उनले भने।बाँके प्रशासनले गत वैशाख दोस्रो साताबाट जिल्लाभर जारी गरेको निषेधाज्ञा अहिले पनि कायमै छ ।
बजार, पसल व्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सार्वजनिक सवारी साधन, रेष्टुरेन्ट, क्याफे लगायत स्थानमा सर्वसाधारणको भिड अत्यधिक देखिन्छ । ती स्थानमा स्वास्थ्य मापदण्ड पालना गरिँदैन । निषेधाज्ञा कार्यान्वयन फितलो भएकै कारण संक्रमण दर बढेको स्वास्थ्यकर्मी बताउँछन् । लापरबाही यथावत् रहेमा कोरोना महामारीको स्थिती भयावह हुने फिजिसियन डा. रिसालले सुनाए ।